काठमाडौं। सशस्त्र प्रहरी बलको 'एफपियु' मिसनमा पठाइदिन्छु भन्दै सशस्त्र प्रहरी कर्मचारीबाट रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-२ बतासे घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने २७ वर्षीय दिनेश सापकोटालाई पक्राउ गरेको हो ।
दिनेशले सशस्त्र प्रहरी बल नेपालका ७ जना कर्मचारीहरूलाई एफपियु मिसनमा पठाइदिने विश्वास र प्रलोभन देखाई रकम ठगी गरेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट पक्राउ गरेको हो ।
पक्राउ परेका दिनेशलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।