काठमाडौं। सशस्त्र प्रहरीले ७ सय ८३ किलो गाँजा बोकेको एउटा ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार सुनसरीबाट सशस्त्र प्रहरी बल, नेपाल नं.१ बराह बाहिनी र सुरक्षा वेश धरानको संयुक्त टोलीले ७ सय ८३ किलो गाँजा बोकेको ट्रक ,चालक र सहचालकलाई नियन्त्रणमा लिएको हो ।
उक्त ट्रक धरान उपमहानगरपालिका-१३ निशाने डाँडाको भेडेटारबाट धरानतर्फ जाँदै गरेको नम्बर प्लेट नराखिएर चलाइएको संकास्पद ट्रकलाई चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा र ना ७ ख २८१ लेखिएको नम्बर प्लेटसमेत फेला परेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार ट्रक ड्राइभरको सिटमाथि बक्सा बनाएर २२ वटा पोकामा लुकाइछिपाइ राखुएको गाँजासहितको ट्रकलाई गए राति नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरीले सुनसरीस्थित बराहक्षेत्र नगरपालिका-१ का ३१ वर्षीय चालक मनोज परियार र धनकुटा जिल्ला सिदुवा नगरपालिका–६ बस्ने १८ वर्षीय सहचालक आकाश राईलाई पक्राउ गरेको जानकारी दिएको छ।
बरामद गरिएको गाँजा, नियन्त्रणमा लिइएको ट्रक र पक्राउ परेका चालक र सहचालकलाई गए राति नै आबश्यक कारबाही र अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयलाई बुझाएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।
बुधबार बिहान पनि सशस्त्र प्रहरीले कोशी प्रदेशस्थित धनकुटाबाट४ क्विन्टल बढी गाँजासहित एउटा जिपलाई नियन्त्रणमा लिएको थियो।