नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरीको एक एआईजीमा बढुवाका लागि निकै रस्साकस्सी, ७ दिने सूचना आज सकिदै

काठमाडौँ सशस्त्र प्रहरी बलमा हाल एक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दी रिक्त रहेको छ। जसको बढुवाका लागि सशस्त्र प्रहरी प्रधान कार्यालयले सम्भाव्य उम्मेदवार रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई गत आइतबार नै ७ दिन भित्र आवेदन दिन आह्वान गरिसकेको छ। उक्त आह्वानको अवधि आज सकिदैछ।

अब बढुवा हुने एआईजी भावी सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) बन्ने सम्भावना रहेकाले  प्रतिस्पर्धीहरुको दौडधूप र बढुवाका लागि रस्साकस्सी चलिरहेको छ । 

गत आइतबार बढुवा समितिको सचिवालयले बढुवाको सूचना निकालेर आवदेन पत्र आह्वान गरेकोमा अहिले धेरै आकांक्षी देखिएको बताइएको छ। दावेदारहरु शक्ति केन्द्रमासमेत धाउन थालेको सशस्त्र उच्च स्रोतले बतायो । 

बढुवा भए भावी आईजीपी बन्न सक्ने र बढुवा नभए डीआईजीबाटै अवकाशमा जानुपर्ने बाध्यकारी अवस्थाका कारण पनि दावेदारहरुबीच रस्साकस्सी चलिरहेको हो । 

यो पद गत बैशाख ३ गतेदेखि खाली छ । ३० वर्षे सेवा अवधिका कारण एआईजी चन्द्रप्रकाश गौतम वैशाख २ गते अनिवार्य अवकाशमा गएसँगै उक्त पद रिक्त भएको हो । 

पहिको नम्बरका डीआईजी कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीलाई मुख्य दावेदारका रुपमा हेरिएको छन् । डीआईजीहरू गिरी र ठाडामगर २०५६ साल असार ३ गते प्रहरी निरीक्षकमा प्रवेश गरी सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए ।

नेम्वाङ उनीहरूपछिको वैकल्पिक सूचीमा थिए । सुवेदी वर्तमान आईजीपी राजु अर्याल, एआईजीद्वय नारायणदत्त पौडेल र वंशीराज दाहालका ब्याची हुन् । 

२०५४ साल चैत १८ गते प्रहरी निरीक्षकमा भर्ना भएका उनीहरू पछि सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए ।

त्यस्तै बढुवाका लागि अन्य डीआईजी कालिदास धौवजी, कुमार न्यौपाने, लक्ष्मणबहादुर सिंह, प्रदीपकुमार पालसँग पनि दावेदारी प्रस्तुत गर्न सक्ने ठाउँ छ । 

तर उनीहरुको सम्भावना निकै कम रहेको सशस्त्र प्रहरी श्रोतले जानकारी दिएको छ। यसपालि सशस्त्रको डीआईजीको वरीयतामा गिरी १ नम्बरमा छन् । त्यो आधारमा उनी नै एआईजी बढुवामा पर्ने आधार बलियो देखिएको छ । 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्