काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईइजीपी) राजु अर्यालले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिशन इन साउथ सुडानमा नेपाल फम्र्ड पुलिस युनिट (एफपीयू( को रुपमा कार्य गर्न जाने १२औं डफ्फाको बिदाई गरेका छन् ।
आईजीपी अर्यालले सशस्त्र प्रहरी प्रधान कार्यालयका आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट शान्ति स्थापनार्थ एफपीयू मिशन वान जुवामा कार्यरत ११ औं डफ्फालाई बदली गर्न जान लागेका सशस्त्र प्रहरी कर्मचारीहरुलाई बिदाई गर्दै कार्य सफलताको शुभकामनासमेत व्यक्त गरेका हुन् ।
अर्यालले विनाशलाई विकास र संघर्षलाई शान्तिमा बदल्ने ठुलो जिम्मेवारी बोकेर द्वन्द्वग्रस्त मुलुकमा जान लागेका सशस्त्र प्रहरी कर्मचारीहरुले अनुशासित एवं सामूहिक भावनाकासाथ राष्ट्र र संगठनको नाम उच्च रहने गरी उत्कृष्ट ढंगले जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन् ।
आईजीपी अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरु संयुक्त राष्ट्रसंघीय मिशनमा संगठन र राज्यको प्रतिनिधित्व गर्दै परिचालन हुने हुँदा बिभिन्न देशका सुरक्षाकर्मीहरुसँग आपसी समन्वय तथा सहकार्य गरी कुशलतापूर्वक कार्यसम्पादन गर्न निर्देशनसमेत दिएका छन् ।
उनले सशस्त्र प्रहरी कर्मचारीहरुको त्याग, उर्जा समर्पण र जेष्ठताको समेत मूल्याङ्कनको फलस्वरुप एफपीयू मिशनमा छनौट भएको बताए ।
सशस्त्र प्रहरीबाट मिशनमा खटिई जान लागेको टोलीलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, र वंशीराज दाहाललगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुले समेत शुभकामना सहित हार्दिक बिदाई गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
सशस्त्र प्रहरी बल सन् २००३ बाट यूएनको शान्ति मिशन अन्तर्गत पहिलो पटक लाईवेरियामा खटिएको थियो । सो मिसन सन् २०१६ मा सकिएको थियो । त्यसैगरी दक्षिण सुडानको जुवामा सन् २०१४ मा सशस्त्र प्रहरी बल नेपाललाई थप मिशन प्राप्त भएको थियो । दक्षिण सुडान मिसनमा हाल १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारीहरु कार्यरत छन् ।
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक जरसिंह बुढासहित १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारीहरु बैशाख २३ गते त्यसतर्फ प्रस्थान गर्ने भएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।