बारा । भारत-पाकिस्तानबीचको तनाबले सीमाबाट घुसपैठ नहोस् भन्ने उदेश्यका साथ बाराको नेपाल भारत सीमास्थित सबै नाकाबाट आवतजावत गर्ने माथि कडाई गर्दै सशस्त्र प्रहरीले अनिवार्य परिचयपत्र लागू गरेको छ।
सम्भावित घुसपैठ हुन सक्ने भन्दै बारास्थित सशस्त्र प्रहरी बल नं.१२ गणले जिल्लाका मुख्य नाका झोरखोर, सतगन्ज, मटर्वा, मुसर्वा, बलिरामपुर लगायत र अन्य सबै साना नाकाहरुमा सुरक्षामा कडाइ तथा निगरानी बढाउँदै नाकाबाट आवागमन गर्ने नेपाली तथा विदेशीहरूका लागि परिचयपत्र अनिवार्य लागू गरिएको बारा सशस्त्र प्रहरी प्रमुख एसपी खुम केसीले बताए।

एसपी केसीले सीमा नाकामा सुरक्षा सतर्कता बढाउने निर्देशनबमोजिम सुरक्षा कडा पारिएको बताउँदै परिचय खुल्ने कागजात बोकेकालाई मात्रै नेपाल-भारत आउँजाउँ गर्न दिएको जानकारी दिएका छन् । नेपाल बाहेकका नागरिकलाई विशेष सोधपुछ पछि परिचय खुल्ने कागजात हेरेर इंट्रीका साथै चेकजाँच गरेर मात्रै गन्तव्यमा पठाउने गरिएको हो।
यसअघि भारतीय सशस्त्र बल (एसएसवी)ले भारतीय नाकामा आवागमन गर्ने नेपाली र भारतीय नागरिकहरूको अनिवार्य परिचयपत्र हेर्दै आउँदा हाल आएर बाराका सबै सीमा नाका भएर नेपाल-भारत आउने जानेलाई सशस्त्र प्रहरीले नाकामा परिचयपत्र हेर्न थालेको एसपी केसीले बताए।

एसपी केसीले भने-"अहिले नेपाल आउने तथा भारत जाने हरेकको परिचय खुल्ने कागजात हेरेर मात्र आउन जान दिएका छौं ।" परिचयपत्र नभएकाहरुलाई प्रवेश गर्न नदिएको उनले बताए। परिचयपत्र भएता पनि कुन गन्तव्यमा जान लागेको भन्ने बारेमा समेत सीमामा रहेका सशस्त्र प्रहरीले जानकारी लिदै आएको एसपी केसीले बताए।
गलत नियतले कसैको पनि नेपाल प्रवेश नहोस् भन्ने उद्देश्यका साथ मुख्य नाकामा परिचय पत्र हेर्न थालिएको जनाउँदै दशगजा क्षेत्रमा भारतीय सशस्त्र बल (एसएसबी) सँग क्रस बोर्डर प्याट्रोल तथा सशस्त्र प्रहरीले २४ सै घण्टा एकल गस्ती गरिरहेको उनले बताए।

सीमामा हुने हरेक गतिविधिका बारेमा दुबै राष्ट्रका सुरक्षा निकायबीच सुरक्षा रणनीतिका बारेमा सूचना आदानप्रदान समेत भइरहेको एसपी केसीले जानकारी दिएका छन् ।

