नेपालगञ्ज । बाँकेको अगैयास्थित राप्ती नदीमा जल उत्पन्न प्रकोप व्यवस्थापन सम्बन्धि कृत्रिम घटना अभ्यास गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीद्वारा आयोजित १२ दिने गोताखोर अनुशिक्षण तालिमको अन्तिम प्रबचन कार्यक्रममा सशस्त्र प्रहरी बल नम्बर ४२ रिजर्भ गण शमशेरगञ्जको प्रदेश स्तरीय विपद व्यवस्थापन टिमले जल उत्पन्न प्रकोप ब्यवस्थापन सम्बन्धि कृत्रिम घटना अभ्यास प्रदर्शन गरेको हो । पानीमा डुबेकाको खोज तथा उद्दार, पूर्व तयारी र प्रतिकार्यलाई समेटेर घटना आइतबार अभ्यास 'रेस्क्यु अगैया' गरिएको थियो ।
लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको बार्षिक स्वीकृत कार्यक्रम अनुसार १० जनालाई गोताखोर अनुशिक्षण तालिम प्रदान गरिएको हो । विपद व्यवस्थापन टिमको दक्षतामा पुनर्ताजगी गर्दै आत्मविश्वास बढाउने उद्देश्यले तालिम आयोजना गरिएको हो । सशस्त्र प्रहरी बल नम्बर ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति डीआईजी दिपेन्द्र कुँवरको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवालको प्रमुख आतिथ्यतामा अन्तिम प्रबचन समारोह सम्पन्न भएको थियो ।

मन्त्री अग्रवालले प्रशिक्षक र प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । प्रशिक्षकका रुपमा सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्ले, सहायक निरीक्षक विरेन्द्र बहादुर कार्की तथा जवानहरु नारायण काउचा र मिलन केसी रहेका थिए । त्यस अवसरमा बोल्दै मन्त्री अग्रवालले सशस्त्र प्रहरीले विपद व्यवस्थापनमा खेलिरहेको भूमिकाको उच्च प्रशंसा गर्दै यस खाले तालिमले पुनर्ताजगीसंगै दक्षता र आत्मविश्वास बृद्धिमा सघाउ पुर्याउने विश्वास ब्यक्त गरे । उनले प्रदेश सरकारले सशस्त्र प्रहरीलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । कार्यक्रममा राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जल उत्पन्न प्रकोप व्यवस्थापनमा तालिम निकै उपयोगी हुने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोक बहादुर सुनार, सशस्त्र प्रहरी बल नौवस्ता शिक्षालय प्रमुख एसएसपी गंगाराम श्रेष्ठ, रिजर्भ गण शमशेरगञ्जका एसपी प्रमोद कुमार भारती, सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी प्रमुख एसपी शोभाकान्त खनाल, बर्दियाका सशस्त्र प्रहरी प्रमुख एसपी मान बहादुर शाही, जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी दिपक पातली, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपाल रेडक्रस सोसाइटी बाँके सभापति गोबद्र्धन सिंह सम्झना लगायतको उपस्थिति थियो ।
सशस्त्र प्रहरी बल नम्बर ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति कुँवरले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)ईश्वर डिसीले गरेका थिए।
