बाँके। बाँके नौवस्तास्थित सशस्त्र प्रहरी बल नेपाल, सशस्त्र प्रहरी जवान तालिम शिक्षालयले शनिबार आफ्नो २४औं स्थापना दिवस धुमधामका साथ मनाएको छ ।
शिक्षालय प्रमुख एसएसपी गंगाराम श्रेष्ठको अध्यक्षता एवम् सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बंशीराज दाहालको प्रमुख आतिथ्यतामा स्थापना दिवस समारोह सम्पन्न भएको थियो । एआईजी दाहालले पानसमा दीप प्रज्ज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए।
स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै एआईजी दाहालले सशस्त्र प्रहरीलाई बदलिँदो समयमा देखा परेका नयाँ चुनौतीहरुको सबल ढंगले सामना गर्न सक्षम बनाउने गरी अघि बढेको बताएका छन् । उनले सशस्त्र प्रहरीलाई समयसापेक्ष र प्रविधिमैत्री बनाउन प्रयास गरिरहेको बताए । नौवस्ता तालिम शिक्षालयले सशस्त्र प्रहरी जवान उत्पादनमा उल्लेखनीय भूमिका खेलिरहेको भन्दै अनुशासित, इमान्दार र कर्तब्यनिष्ठ भएर काम गर्न उनले मातहत सबैलाई निर्देशन दिए ।
कार्यक्रममा कोहलपुर नगर प्रमुख पूर्ण प्रसाद आचार्य, बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाया, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनीका बाहिनीपति डीआइजी दिपेन्द्र कुँवर, लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोक बहादुर सुनार, नेपाली सेनाको ४ नम्बर बाहिनी इमामनगरका बाहिनीपति प्रशान्त विक्रम राणा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दै सशस्त्र प्रहरी जवान उत्पादनमा शिक्षालयले खेलिरहेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

सशस्त्र प्रहरी जवान शिक्षालय नौबस्ताका अनुसार स्थापना दिवसमा शहिद परिवारहरुलाई दोसल्लाले सम्मान गरिनुका साथै उत्कृष्ट कार्य गर्ने र बिभिन्न विधातर्फको खेलमा विजयी हुने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको थियो । साथै स्थापना दिवसको अवसरमा आयोजित हाजिरीजवाफ र बक्तृत्वकला प्रतियोगिताका उत्कृष्ट विभिन्न विद्यालयका विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । बिभिन्न साँस्कृतिक प्रस्तुतिहरु समेत देखाइएको कार्यक्रममा प्रमुख अतिथि एआईजी दाहालले शान्तिको दुत परेवा उडाउनुका साथ केक पनि काटेका थिए ।
प्रमुख अतिथि र विशिष्ट अतिथिहरुबाट अमर सशस्त्र प्रहरी सहिदहरुप्रति सम्मान प्रकट गर्दै सहिद स्मारकमा पुष्पगुच्छा अर्पण र बृक्षारोपण पनि गरिएको थियो । त्यस अवसरमा प्रमुख अतिथि एआईजी दाहाललाई शिक्षालय प्रमुख श्रेष्ठले मायाको चिनो प्रदान गरेका थिए।
