नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरीद्वारा सिराहाबाट ४ वटा मोटरसाइकलसहित झण्डै साढे ७ लाखको अवैध सामग्री बरामद

सिराहा सशस्त्र प्रहरी सिराहाले भन्सार छली गरेर ल्याइएका लाखौं रुपैयाँ बढीका विभिन्न किसिमका अवैध  सामग्री बरामद गरेको छ।

सिराहा नगरपालिका-२१ लगडिगदियानीस्थित नं ७ गणबाट सशस्त्र प्रहरी नायब निरीक्षक विष्णुप्रसाद गौतमको कमान्डमा खटिएको गस्ती टोलीले नेपालबाट अवैध रूपमा भारतीय नं प्लेटका चारवटा मोटरसाइकलमा राखी भारततर्फ लैजाँदै गरेको रु ८९ हजार ६०० मूल्य बराबरको ३२० किलो स्याउ र  ४ लाख रुपैयाँ मूल्य बराबरको ४ थान मोटरसाइकल बरामद गरी भन्सार कार्यालयमा बुझाएको हो।

सशस्त्र प्रहरी सिराहा प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार शुक्रबार सिराहा-२० स्थित नं ७ गणका सशस्त्र प्रहरी निरीक्षक दिनेश बम्जनको कमान्डमा खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको १ लाख ६९ हजार ८०० रुपैयाँ  मूल्य बराबरको कपडा र सुनचाँदी राख्ने बट्टा बरामद गरेको हो ।

सशस्त्र प्रहरीले शुक्रबार नै सिराहा-१७ स्थित माडर बसपार्क नजिक प्रसीसु गुल्म माडरबाट सशस्त्र प्रहरी नायब निरीक्षक चुडामणि काफ्लेको कमान्डमा खटिएको टोलीले ३६ हजार १५० रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरेको छ । 

शुक्रबार नै औरही गाउँपालिका-३ कडहर्वा खण्डमा सशस्त्र प्रहरीको बिओपी बरियारपट्टिबाट सशस्त्र प्रहरी निरीक्षक शङ्करबहादुर थापाको कमान्डमा खटिएको टोलीले अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरिएको ५३ हजार २२० रुपैयाँ  मूल्य बराबरको भाँडावर्तनहरू बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक भण्डारीले जानकारी दिए ।

उनका अनुसार बरामद गरिएका ७ लाख ४८ हजार ७७० रुपैयाँ बराबरका सबै सामग्री भन्सार कार्यालयमा आज बुझाउने प्रक्रिया सुरु भएको छ ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्