बर्दिया । सशस्त्र प्रहरी बलले बर्दियामा विपद् उद्दार सम्बन्धि पूर्वतयारी तथा प्रतिकार्य कृत्रिम घटना अभ्यास गरेको छ। जिल्ला प्रशासन कार्यालय एवम् जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाको आयोजनामा गुलरिया नगरपालिका ८ स्थित भादा नदिमा कृतिम घटना अभ्यास सम्पन्न गरिएको सशस्त्र प्रहरी बल नं.३१ गण बर्दियाले जानकारी दिएको छ ।
मनसुनजन्य जल उत्पन्न प्रकोपबाट हुन सक्ने मानविय एवं भौतिक क्षतीलाई रोकथाम एवं न्यूनिकरणका लागि "बाढी तथा डुवानमा आधारित विपद् पूर्वतयारी तथा प्रतिकार्य कृतिम घटना अभ्यास" मा सशस्त्र प्रहरी बल नं.३१ गण बर्दियाको बिपद ब्यबस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीहरुको टोलीसँगै सेना र प्रहरीले जल उत्पन्न प्रकोप उद्दार तथा ब्यबस्थापन सम्बद्ध विभिन्न अभ्यासहरु प्रदर्शन गरेका थिए ।

बिहीवार गरिएको कृत्रिम घटना अभ्यासमा विशेष गरेर आउँदै गरेको बर्षा याममा हुन सक्ने जल उत्पन्न प्रकोप ब्यबस्थापन कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले कृत्रिम घटना अभ्यास गरिएको सशस्त्र प्रहरी बल नं.३१ गणले जानकारी दिएको छ ।
सशस्त्र प्रहरीका अनुसार बाढी प्रभाबित नागरिकहरुको उद्दार सम्बन्धि उक्त अभ्यासमा मेडिकल फर्स्ट रेस्पोन्डिङ्ग, बाढीमा फसेकाहरुको स्थानीय स्रोत साधनहरुको प्रयोगबाट उद्दार, डुङ्गाबाट उद्दार, रोप रेस्क्यू, पानी मुनी र पानी माथिबाट नदी पार, विभिन्न साधनहरुबाट चीन-अप क्यारी, हाई एङ्गल क्यारी आदि बिधिहरुबाट उद्दार कला प्रस्तुत गरिएको थियो ।

कृत्रिम घटना अभ्यास उक्त अभ्यासमा गुलरिया नगरपालिकाका उप-प्रमुख साबित्रा गौतम, निमित्त प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायत,सशस्त्र प्रहरीका एसपी मानबहादुर शाही, जिल्ला प्रहरी कार्यालय डीएसपी चक्र बहादुर डम्मरपाल, नेपाली सेना ब्रजदल गणका सहायक गणपति सेनानी मोहन के.सी., गुलरिया नगरपालिकाका जनप्रतिनिधीहरु, बिभिन्न राजनैतिक दलका प्रतिनिधी, उद्योग बाणिज्य संघ गुलरियाका अध्यक्ष, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरे लगायत अन्य पत्रकार , नेपाल रेडक्रस सोसाईटी बर्दिया र साढे ३ सय बढी स्थानियको सहभागिता रहेको सशस्त्र प्रहरी बर्दियाले जनाएको छ।
