बर्दिया । सीमा सुरक्षा, सीमा अपराध, अवैध ओसारपसारविरुद्द र आन्तरिक शान्ति सुरक्षा लगायतका कार्य गर्दै आएको सशस्त्र प्रहरीले बर्दियाबाट ८० लाख रुपैयाँ बढीको अवैध सामग्री बरामद गर्दै २५ जना लागुऔषध कारोबारीलाई ठुलो परिमाणको ब्राउन सुगरसहित पक्राउ गरेको छ।
बर्दियास्थित सशस्त्र प्रहरी बल नं.३१ गण र मातहतका सशस्त्र प्रहरी कार्यालयले गत फागुन १ गतेदेखि जेठ मसान्तसम्ममा भारतबाट अवैध रुपले भन्सार छली गरेर तस्करी गरेर ल्याइएको ८० लाख ३ हजार २ सय रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल नं.३१ गण बर्दियाले जानकारी दिएको छ।
एक मात्र छोटी भन्सार कार्यालय रहेको बर्दियाबाट सशस्त्र प्रहरीले गत २०८१ फागुनमा मात्रै २३ लाख ४ हजार ४ सय रुपैयाँको अवैध सामग्री बरामद गर्दा चैतमा १७ लाख ३४ हजार ९३९ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको सशस्त्र प्रहरी बर्दियाले जनाएको छ।
सशस्त्र प्रहरी बर्दियाका अनुसार उक्त अवधिमा नेपाल-भारत सीमा नाकामा खटिएको सशस्त्र प्रहरीले बिभिन्न किसिमका लत्ताकपडा, चिनी, सुर्तीजन्य पदार्थ , हार्डवयर, ईलेक्ट्रोनिक्स, मलखाद्, पेय पदार्थ, पशु चौपाया, कुखुरा, माछा, काठ लगायतका सामग्री बरामद गरेको हो।
त्यसैगरी सशस्त्र प्रहरीले २०८२ बैशाखमा २२ लाख २२ हजार ६६४ रुपैयाँको अवैध सामग्री बरामद गर्दा जेठ मसान्तसम्म १७ लाख ४१ हजार १९७ रुपैयाँ बराबरको भन्सार छलीका अवैध बस्तु बरामद गरेको हो।
भन्सार छलीका अवैध सामग्री मात्र नभइ सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मानबहादुर शाहीको कमान्ड रहेको सशस्त्र प्रहरी बर्दियाले सोही अवधिमा जिल्लाका विभिन्न स्थानबाट समाज नै दुर्गन्धित बनाउने २५ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीले लागुऔषध कारोबारीविरुद्द गरेको १५ पटकको कारबाहीमा १०.१९ ग्राम ब्राउन सुगर बरामद गर्दै आबश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाएको सशस्त्र प्रहरी बल नं.३१ गणले जानकारी दिएको छ।
यसैगरी सशस्त्र प्रहरीले ४ महिनाको अवधिमा ४ लाख १० हजार रुपैयाँ बराबरको ९ वटा राँगा बरामद गर्दा १ लाख ४३ हजार ८३७ रुपैयाँ बराबरको ३४ क्युफिट अवैध काठ, पशुपंक्षीजन्यतर्फ १ लाख ९३ हजार ९ सय रुपैयाँ बराबरको ४ क्विन्टल ४३ किलो बोइलर कुखुरा, १ लाख ४४ हजार रुपैयाँको २० वटा खसी, ५५ हजार रुपैयाँ बराबरको १ क्विन्टल ८० किलो माछा बरामद गरेको सशस्त्र प्रहरी बल नं.३१ गण बर्दियाले जानकारी दिएको छ।
सशस्त्र प्रहरी बर्दियाले दिएको जानकारी अनुसार बरामद गरिएको सबै अवैध सामग्री लगायतलाई आबश्यक कारबाहीका लागि भन्सार तथा सम्बन्धित कार्यालयमा पठाइएको हो।