बाँके । बाँकेमा लुम्बिनी प्रदेशमै पहिलोपटक समुदाय विपद् स्वयंसेवक तयार भएका छन् । सशस्त्र प्रहरी बल नेपालले पहिलोपटक समुदाय विपद् स्वयंसेवक तयार गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेडक्वार्टर शमशेरगञ्जले जेठ १४ गतेदेखि पहिलो चरणको तालिम सुरु गरेको थियो ।
मनसुनजन्य विपद्लाई मध्यनजर गर्दै राप्तीसोनारी गाउँपालिकाका विभिन्न वडाका २५ जना युवाहरूलाई तालिम दिएर समुदाय विपद् स्वयंसेवक तयार पारिएको हो । स्थानीय तह र वडा स्तरमा विपद स्वयंसेवक तथा विपद सूचकहरू उत्पादन गर्ने नीति अनुसार तालिम दिइएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेडक्वार्टर शमशेरगञ्जका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रमोद कुमार भारतीको अध्यक्षता एवम् राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलको प्रमुख आतिथ्यतामा तालिम समापन समारोह सम्पन्न भएको थियो ।
अध्यक्ष पौडेलले राप्तीसोनारी गाउँपालिका विपद्का हिसाबले जोखिमयुक्त भएकाले अझै यस खाले समुदाय विपद् स्वयंसेवक तयार गर्न जरुरी रहेको बताए । उनले सशस्त्र प्रहरीले पहिलोपटक उत्पादन गरेका स्वयंसेवकको क्रमिक क्षमता बृद्धि तथा प्रोत्साहनका कार्यक्रम गर्न तयार रहेको उल्लेख गरे । विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले शमशेरगञ्ज गणले समुदाय विपद् स्वयंसेवक उत्पादनमा गरेको योगदानको प्रशंसा गर्दै जिल्लाका हरेक जोखिमयुक्त इलाकाहरुमा यस्ता स्वयंसेवक उत्पादन गर्न आवश्यक रहेको बताए ।

सशस्त्र प्रहरी उपरीक्षक भारतीले तालिमको औचित्यमाथि प्रकाश पार्दै आगामी दिनहरुमा समेत क्रमिकरुपमा जिल्लाका सबै स्थानीय तहहरुमा समुदाय स्वयंसेवक उत्पादन गर्न अघि बढ्ने बताए । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेडक्वार्टर शमशेरगञ्जको आयोजना, राप्तीसोनारी गाउँपालिकाको समन्वय तथा कारितास नेपाल र बी(ग्रुपको सहजीकरण र सहकार्यमा तालिम सञ्चालन भएको हो ।
तालिममा नेपालमा विपद व्यवस्थापन प्रणाली, विपद व्यवस्थापन सम्बन्धि जानकारी, मेडिकल फर्स्ट रेस्पोण्डर अर्थात् विपद स्थलमा पुगेपछि घाइतेको जीवन रक्षाका लागि गरिने पहिलो उपचार सम्बन्धि सीप सिकाउने, बाढीपहिरो तथा डुबानमा उद्धार कसरी गर्ने, अग्नी नियन्त्रण र वन डढेलो नियन्त्रणमा कसरी काम गर्ने, डोरीद्वारा उद्धार गर्ने तरिका, भूकम्पको जोखिम न्यूनीकरणमा कसरी काम गर्ने, सडक दुर्घटनाको जोखिम न्यूनीकरण तथा उद्धार लगायतका विषयवस्तुमा सीप प्रदान गरिएको प्रशिक्षक सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढा बताए ।

१८ कार्य दिनको तालिम राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको पाठ्यक्रमका आधारमा प्रदान गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वर डिसीले बताए । समुदायस्तरमा घट्ने विभिन्न विपद्जन्य घटना व्यवस्थापन तथा घाइतेको जीवन रक्षाका लागि पहिलो उपचार गर्न स्थानीय नागरिकलाई सक्षम बनाउने तालिमको मुख्य उद्देश्य रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेडक्वार्टर शमशेर गन्जका गणपति सशस्त्र प्रहरी उपरीक्षक भारतीले बताए ।
सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशमा ५०० जना विपद स्वयंसेवक तथा विपद सूचकहरू तयार गर्दैछ । आगामी आर्थिक वर्षभित्र देशभर ३६ सय ७५ जना समुदाय विपद स्वयंसेवक तथा विपद सूचकहरू तयार गर्ने लक्ष्य रहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । प्रत्येक वडामा २५ जना विपद सूचक तयार गर्ने लक्ष्य छ ।