काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले 'म होइन हामी भन्ने मान्यताका साथ' आफ्नो जिम्मेवारी बोध गर्न सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।
राष्ट्र र जनताको सेवा र सुरक्षा जस्तो पवित्र जिम्मेवारी निर्वाह गर्ने क्रममा असिमित आवश्यकता र सीमीत श्रोत साधनका बावजुद पनि कार्यक्षेत्रमा 'म होइन हामी भन्ने मान्यताका साथ' आफ्नो जिम्मेवारी बोध गरी सदैव राम्रो गर्छु भन्ने भावनाकासाथ नागरिकप्रति सधैँ समर्पित भई कार्य गर्न सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका हुन्।
आज सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको ८ औं वार्षिकोत्सव कार्यक्रममा आईजीपी अर्यालले सो निर्देशन दिदै वर्षभरी उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी, बाहिनीलाई सहयोग पुर्याउनुहुने विभिन्न संघसंस्था तथा महानुभाव र अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत पुरस्कार , कदरपत्र तथा प्रशंसापत्र प्रदान गरेका छन् ।
अर्यालले विपद् उद्धारको कार्यमा बाहिनी तथा मातहत कार्यालयहरुले पुर्याएको योगदान सराहनीय रहेको बताउँदै विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल, नेपालले सामुदायिक स्वयमसेवक तालिम दिँदै डिजास्टर भोलेन्टीयरहरु तयार गर्दै आईरहेको र यसले विपद् उद्धार लगायत विपद् सम्बन्धी सूसचित गराउने कार्यमा थप प्रभावकारीता आउने विश्वास व्यक्त गरेका छन् ।
आईजीपी अर्यालले राष्ट्र एवं जनताको सेवा, सुरक्षा, सहयोग तथा उद्धार तथा बिशेषत विपद् व्यवस्थापन, सीमा सुरक्षा, राजश्व संकलन र आन्तरिक सुरक्षामा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरु थप व्यावसायिक रुपमा ईमान्दार, नैतिकवान, कर्तव्यनिष्ठ र परिस्थिती अनुरुपको निर्णय गर्न सक्ने क्षमता र सामुहिक भावनाका साथ त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्न समेत निर्देशन दिएका थिए।
सोही अवसरमा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सशस्त्र प्रहरीको सीमा सुरक्षा देखि सामाजिक दायित्व सम्म अतुलनिय योगदान रहेको चर्चा गर्दै सशस्त्र प्रहरीले त्याग, समर्पण र साहसका साथ गौरवपुर्ण काम गर्दै आएको समेत बताए।
कार्यक्रममा चितवनस्थित कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले नागरिकलाई अप्ठेरो परेको वेला सशस्त्र प्रहरीको भुमिका अति महत्वपुर्ण रहेको उल्लेख गर्दै अव्वल संगठनको रुपमा चिनाउन सफल रहेको सशस्त्र प्रहरी राष्ट्र, राष्ट्रियता र नेपाली जनतासम्म पुग्न सदैव सकृय रहनुपर्ने बताएका छन् ।
यसैगरी हेटौडा उप–महानगरपालिका प्रमुख मिना कुमारी लामाले राष्ट्र, राष्ट्रियताको जिम्मेवारीमा सशस्त्र प्रहरी र अन्य सुरक्षाकर्मीहरुले विपद्को वेला खम्वाको रुपमा उभिएर कार्य गर्दै आएको, सशस्त्र प्रहरीले राष्ट्रलाई स्वाभिमान वनाउन सहयोग गरी रहेकोे तथा सशस्त्र प्रहरीको सहकार्यमा उप–महानगरपालिकाले समेत सामाजिक कार्य गर्दै आईरहेको बताइन् ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरेलले राष्ट्र एवं जनताको सेवा, सुरक्षा, सहयोग र उद्धार कार्यमा बाहिनी लगायत मातहत युनिटका सशस्त्र प्रहरी कर्मचारीहरुले व्यावसायिक ढंगबाट परिचालित भई कार्यक्षेत्रमा ईमान्दारीताकासाथ कार्यसम्पादन गर्दै आईरहेको बताए।
कार्यक्रममा नेपाली सेना मध्य पृतना हेडक्वाटरका सुपारेटार मकवानपुरका पृतनापति उपरथी हरेन्द्र पाठक, अवकाशप्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक ऋषवदेव भट्टराई लगायत स्थानीय भद्रभलाद्मी, विभिन्न संघ संस्थाका महानुभाव, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।
बार्षिकोत्सव कार्यक्रम समापन पश्चात सोही अवसरमा आईजीपी अर्यालले भुतपूर्व सशस्त्र कर्मचारीहरु तथा अमर सशस्त्र प्रहरी कर्मचारीहरुका परिवारजनलाई भेटघाट गर्दै उनीहरुक लागि संगठनबाट हुने सबै प्रकारका साथ र सहयोग सदा रहने समेत प्रतिवद्दता व्यक्त गरेका थिए ।
यसअघि बिहीबार आईजीपी अर्यालले सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनको निरीक्षण गर्दै गण परिसरमा नवनिर्मित पाहुना घर तथा निर्माणाधिन भुपु संघको कार्यालय भवनको समेत अवलोकन गरेका थिए।
सोही क्रममा उनले सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई समयसापेक्ष आवश्यक निर्देशन दिनुका साथै आम जनताको सेवा र सुरक्षामा खटिँदा शिर झुकाउने काम नभएर शिर उठाएर लाग्नुपर्ने बताएका थिए।
आपत् विपद्मा परेका आम नागरिकहरु जसले देख्छ तत्काल एक्सन लिई उद्धार कार्यमा खटिन निर्देशन दिदै आईजीपी अर्यालले भने–‘फिल्डमा हुने धनजनको क्षति जोगाउन र राज्यको सुरक्षा गर्न तथा असल कामको लागि आदेशको प्रतिक्षामा बस्नु पर्दैन यसका लागि मैले पटक–पटक भन्ने गरेको छु, सबै तहका कर्मचारीहरुले सोही निर्देशानुसार काम गरेपछि जानकारी अवश्य दिनुहोला ।’
साथै महानिरीक्षक अर्यालले अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुसँग विभिन्न विषयमा छलफल गर्नुका साथै उनीहरुको अवकाशपछिको जीवन के–कस्तो रहेको छ भन्ने विषयमा समेत जिज्ञासा राखेका थिए ।