नरैनापुर(बाँके) । 'फेरि भेटौला' भन्दै बाँकेको नरैनापुर गाउँपालिकास्थित सशस्त्र प्रहरीको गंगापुर बिओपी प्रमुख इन्स्पेक्टर सुरेन्द्र भण्डारीको बिदाई गरिएको छ।
बिओपी गंगापुरबाट ६ महिने कार्यकाल सकेर सुदूरपश्चिमस्थित नं.७ वैधनाथ बाहिनी जान लागेका इन्स्पेक्टर भण्डारीलाई स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, गाउँपालिकाका कर्मचारी,शिक्षक तथा स्थानीयहरुले आज बिओपीमै पुगेर बिदाईगरेका हुन् ।
गंगापुर बिओपी प्रमुखका रूपमा रहदा गरिएको कार्यको प्रसंशा गर्दै स्थानीय वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि र स्थानीय लगायतले फेरि भेटौला भन्दै सुखद बिदाई गरिएको नेपाली कांग्रेस नरैनापुर गाउँपालिकाका उपाध्यक्ष नितेश सिंह मौर्यले बताए।
बिदाई कार्यक्रममा वडाध्यक्षहरु, नरैनापुर गाउँपालिकास्थित सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्मका डीएसपी बिक्रम मणी अधिकारी, गाउँपालिकाका कर्मचारीहरु, नेपाली कांग्रेस नरैनापुर गाउँपालिका उपाध्यक्ष नितेश सिंह मौर्य, बिओपीमा कार्यरत सशस्त्र प्रहरी कर्मचारी लगायत स्थानीयहरुको सहभागिता रहेको थियो।
इन्स्पेक्टर भण्डारी गंगापुर बिओपीमा रहदा विपद व्यवस्थापनतर्फ अब्बल कार्य गरेका थिए भने राप्ती नदीको भेलमा फसेका ३ जनाको सकुशल उद्धार गर्न सफल भएका थिए। इन्स्पेक्टर भण्डारीको कमाण्डले राप्ती नदीमा बेपत्ता भएका दुई जनाको शव नदीको गहिराईबाट निकाल्न सफल भएका हुन् ।
त्यसैगरि अवैध तस्करीविरुद्ध धावा बोलएका उनले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ सय प्रतिशत बढी अवैध सामग्री बरामद गर्न सफल भएका छन् । उनले विपद व्यवस्थापनका बारेमा स्थानीय तथा विद्यार्थीलाई कयौं पटक विपद सचेतना कार्यक्रम बारेमा प्रशिक्षण समेत दिएका थिए।
भण्डारी सुदूरपश्चिमस्थित नं.७ वैधनाथ बाहिनी गएसँगै उनको स्थानमा इन्स्पेक्टर दशरथ अधिकारीले बिओपी गंगापुरको कमाण्ड सम्हालेका छन् ।