काठमाडौं । भारतबाट अवैध रूपमा भन्सार छली गरेर ल्याइएकोे ठुलो परिमाणमा लत्ताकपडा र दुईवटा मोटरसाइकलसहित एक युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार आज बिहान गोलबजार नगरपालिका–६ गुम्बाचोक नजिकै सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाको गस्ती टोलीले उक्त सामानसहित २२ वर्षीय रामकुमार यादवलाई पक्राउ गरेको हो । यादव सुखीपुर नगरपालिका–७ सिसवाका स्थायीवासी हुन् ।
सशस्त्र प्रहरीले उनीसँगै रहेका अर्का मोटरसाइकल चालक भने फरार रहेको जानकारी दिएको छ । सशस्त्र प्रहरीका अनुसार यादवको साथबाट दुई लाख ८२ हजार ८०० रुपैयाँ बराबरको कपडा र दुई लाख ५० हजार रुपैयाँ मूल्य बराबरका दुई थान मोटरसाइकल बरामद गरिएको छ । बरामद सामग्रीको मूल्य ५ लाख ३२ हजार ८०० रुपैयाँ बराबर रहेको छ ।
सशस्त्र प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार भारतबाट भन्सार छली गरेर सामान भित्र्याउने कार्यमा रोक लगाउन जिल्लास्थित सशस्त्र प्रहरीले कडा निगरानी थालेको छ । पक्राउ परेका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको पनि सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।