नेभिगेशन
सशस्त्र प्रहरी

चाडपर्वका सुरक्षा सङ्कट र चोरीपैठारीबारे सूचना दिन सशस्त्र प्रहरीको अपिल

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्र तथा चाडपर्वका सुरक्षा सङ्कट र सामानको अवैध चोरीपैठारी भइरहेको जानकारी पाइएमा आवश्यक सूचना दिन नागरिकमा अपिल गरेको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कालिदास धौवजीले ‘देश रहे हामी रहन्छौँ’ भन्ने यथार्थलाई मनन गरी राजस्व चुहावट नियन्त्रणलाई राष्ट्र भावसँग जोडेर हेर्नुपर्ने बताउँदै भन्सार शुल्क तिरेर मात्र अन्तर्राष्ट्रिय सीमाबाट सामान ओसारपसार गर्ने बानी बसाल्न तथा अवैध चोरी निकासी पैठारी नियन्त्रण गर्न वा भए–गरेको पाइएमा सूचना दिई सहयोग गर्न अनुरोध गरे ।

सशस्त्र प्रहरीले त्यस्ता गतिविधि पाइएमा सशस्त्र प्रहरीको टोल फ्री नम्बर १११४, केन्द्रीय प्रवक्ताको नम्बर ९८५१२७२००७, सीमा हटलाइन नम्बर ९८५१२६०७३० र केन्द्रीय अनुगमन नम्बर ९८५१२६१२०० मा सम्पर्क गरेर जानकारी दिन सबैमा अनुरोध गरेको छ ।

“समाजको सुरक्षा सङ्कट सम्बन्धमा जानकारी गराउन, विपद् सम्बन्धमा आवश्यक जानकारी लिन उद्धारका लागि सूचना दिन तथा विशेषतः राजस्व चुहावट नियन्त्रण सम्बन्धमा आवश्यक सूचना दिन नजिकको सशस्त्र प्रहरी बल, नेपालको एकाइ वा तलको नम्बरमा असल नियतले सम्पर्क गरी सहयोग गरी दिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौँ । साथै सीमा अपराधलगायत राजस्व छलीमा सशस्त्र प्रहरी बलका कुनै कर्मचारी संलग्न भएको पाइएमा समेत उल्लेखित नम्बरमा सूचना दिई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ ”, सशस्त्र प्रहरीद्वारा जारी सूचनामा भनिएको छ । 

आगामी चाडपर्व सम्पूर्ण नेपालीहरूले भाइचारा तथा राष्ट्रिय एकताको भावनामा वृद्धि एवं सिङ्गो देशमा शान्ति सुव्यवस्थाको कामना गर्दै सामाजिक मेलमिलापसहित पर्व मनाउने विश्वास व्यक्त गर्दै उनले सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व चुहावट नियन्त्रणमा सहयोग, विपद् उद्धार व्यवस्थापनलगायत नेपाल सरकारले समयसापेक्ष दिएको जिम्मेवारीलाई प्रभावकारी ढङ्गले निर्वाह गर्न सशस्त्र प्रहरी बल, नेपाल तपाईँहरूमाझ अहोरात्र परिचालन भइरहेको पनि उनले जानकारी दिए ।

विपद् उद्धारमा सशस्त्र प्रहरी बल हरेकपल आमजनसमुदायसँगै रहेको सन्दर्भमा विगतमा सेती नदीको गहिरो खोचदेखि गोक्यो हिमतालको चिसोसम्मका उद्धारको घटना स्मरण गर्दै मनसुनको समय नसकिएको र देशको विविध भागमा आएको बाढीपहिरोका कारण लोकमार्गहरू अवरुद्ध रहेकाले यात्रा गर्ने रुटको पर्याप्त जानकारी लिएर मात्र सुरक्षित तवरले यात्रा गर्न पनि अनुरोध गरिएको छ ।

चाडपर्व अवधिभर सीमा सुरक्षा विभाग प्रमुखलगायत सबै बाहिनी तथा सीमा इलाकामा परिचालित सबै युनिट प्रमुखहरू राजस्व चुहावट नियन्त्रणमा सक्रिय रूपमा खटिएका जानकारी दिँदै प्रवक्ता धौवजीले आयातमुखी राजस्वमा निर्भर रहेको देशको अर्थतन्त्रलाई बलियो बनाउन राजस्व चुहावट नियन्त्रणको जिम्मेवारी रहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्