काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले बदलिदो सुरक्षा चुनौती र राजश्व अभिबृद्धि गर्ने अभिप्रायकासाथ सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई मुख्य सीमा नाकाहरुमा खटाएको छ । सीमा नाकाहरुमा खटाइएका एसएसपीहरुलेअ सशस्त्र प्रहरी बलका बाहिनी मुख्यालयसँगको आवश्यक समन्वयमा तोकिएको इकाईमा बसेर दैनिक तथा साप्ताहिक रुपमा आफुले सम्पादन गरेका कार्य सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा प्रतिवेदन गर्ने सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार निश्चित समयमा उनीहरुले गरेका कार्य प्रभावकारी देखिएमा संगठनले उक्त कार्यलाई निरन्तर दिन उनीहरुको ठाउँमा अन्य एसएसपीहरुलाई जिम्मेवारी तोकी खटाउनुकासाथै सीमा क्षेत्रमा हुने कुनै खबर, सूचना तथा गुनासो भएमा सर्वसाधारण नागरिकहरुले समेत प्रत्यक्ष रुपमा सम्पर्क राख्ने व्यवस्था समेत मिलाइएको छ ।
उनीहरुले सम्बन्धित सीमा क्षेत्रमा खटेर राजश्व चुहावट, चोरीनिकासी तथा पैठारी सम्बन्धी गैर कानूनी कार्यमा रोक लगाउनुकासाथै सो कार्यमा संलग्न देखिएका व्यक्तिहरुलाई तत्काल कारवाहीको दायरामा ल्याउने र सीमासँग सम्बन्धीत सूचनाहरुको अभिलेखीकरण तथा व्यवस्था समेत गर्ने प्रधान कार्यालयले जनाएको छ।
उनीहरुले लागूऔषध, हातहतियार ओसारपसार एवं फरार कैदी लगायत अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाउनुका साथै भन्सार, राजश्व अनुसन्धान, उद्योग वाणिज्य संघ, स्थानीय निकाय, स्थानीय व्यापारी एवं सर्वसाधारणसँग समन्वय गरी सीमा अपराध नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । यस्ता कार्यहरुले भन्सार नाकाबाट बैध तरिका अवलम्वन गरी सामान आयात गर्ने प्रचलन कायम गराउन भन्सार कार्यालय लगायत सम्बन्धित निकायहरुसँग समन्वय गरी कार्य गर्ने वातावरण समेत सृजना हुने विश्वास लिईएको प्रधान कार्यालयले जनाएको छ।
सशस्त्र प्रहरी प्रधान कार्यालयले एसएसपीहरुमध्य कोशी प्रदेश अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टा झापा र प्रस्तावित सीमा सुरक्षा गुल्म रानी मोरङ्गमा रहेर सो प्रदेशका अन्य सीमा नाकामा निगरानी गर्न एसएसपी दिगविजय सुवेदी (फोन नम्बर ९८५१००१९४२) तथा मधेश प्रदेश अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज पर्सामा रहेर सो प्रदेशका अन्य सीमा नाकाको समेत निगरानी गर्न सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक माधव प्रसाद पौडेल (फोन नम्बर ९८५१२६००२७) लाई खटाइएको छ ।
त्यसैगरी लुम्बिनी प्रदेश अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रुपन्देही, प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर कपिलवस्तु र प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह बाँकेमा रहेर सो प्रदेशका अन्य सीमा नाकाको निगरानी गर्न एसएसपी रविनराज कर्णजीत (फोन नम्बर ९८५१२५९६१७) र सुदूरपश्चिम प्रदेश अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगर कैलाली र प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकी कञ्चनपुरमा रहेर सो प्रदेशको अन्य सीमा नाकाको निगरानी गर्न एसएसपी गंगाराम श्रेष्ठ (फोन नम्बर ९८५१२६७७७७) लाई खटाइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रधान कार्यालयका अनुसार उनीहरुलाई उल्लेखित फोन नम्बरमा आम सर्वसाधारण तथा सरोकारवाला सबैले फोन गरेर राजश्व चुहावट लगायत सीमा क्षेत्रमा हुनसक्ने अवैध गतिविधी नियन्त्रणमा सम्बन्धमा सम्पर्क गर्न सकिने छ । उनीहरु बोर्डर आउट पोस्टमानै बस्ने र त्यहीँबाट सीमा क्षेत्रमा हुने अबैध गतिबिधीको निगरानी र रोक्ने कार्य गर्ने सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।