नेभिगेशन
सशस्त्र प्रहरी

उत्कृष्ट कार्यको मूल्यांकन: ५ सशस्त्र प्रहरी कर्मचारीले पाए यूएन मिसनको अवसर

काठमाडौँ । विपद् उद्धारदेखि अन्तर्राष्ट्रिय खेलकुदसम्म उल्लेखनीय योगदान पुर्‍याएका सशस्त्र प्रहरी बल नेपालका पाँच जना कर्मचारीलाई संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा सहभागिता जनाउने अवसर प्रदान गरिएको छ । संगठनभित्र उत्कृष्ट कार्यसम्पादन गर्ने जनशक्तिलाई प्रोत्साहन गर्ने नीतिअनुसार उनीहरू छनोटमा परेका हुन् ।

सशस्त्र प्रहरी प्रवक्ता डीआईजी मनिष थापाका अनुसार गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्त गरी जोखिमपूर्ण परिस्थितिमा नागरिकको ज्यान जोगाउन अग्रपंक्तिमा खटिएका कर्मचारी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा देशको नाम उज्यालो बनाएका खेलाडीलाई यसपटक प्राथमिकतामा राखिएको हो ।

छनोट हुनेमध्ये सशस्त्र प्रहरी सहायक निरीक्षक दीपेन्द्र विष्टले देशका विभिन्न स्थानमा घटेका विपद् घटनामा पटक–पटक परिचालित भई नागरिकको सकुशल उद्धार गरेका छन् । उनले जोखिमपूर्ण अवस्थामा शव व्यवस्थापनका साथै विदेशी पर्यटकको जीवित उद्धारमा समेत सफलता हासिल गरेका थिए ।

त्यस्तै, सशस्त्र प्रहरी सहायक हवलदार भरत काफ्लेले सुनसरीको इटहरीस्थित सेन्टर प्लाजामा भएको आगलागीका क्रममा रोप रेस्क्यु विधि प्रयोग गरी फसेका नागरिकको उद्धार गर्दै उच्च साहस प्रदर्शन गरेका थिए ।

गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी सहायक हवलदार मेखबहादुर गुरुङले उद्धार तालिममा प्रशिक्षकको भूमिकासँगै विभिन्न दुर्घटनामा मृत्यु भएका व्यक्तिको शव निकाल्ने कार्यमा सक्रिय योगदान दिएका छन् । आपत् र विपद्मा निरन्तर सेवा पुर्‍याएको मूल्यांकन गर्दै ‘वर्ष जवान–२०८१’ घोषित सशस्त्र प्रहरी सहायक हवलदार किरणबहादुर भण्डारीलाई पनि मिसनको अवसर दिइएको छ ।

त्यसैगरी नेपाल एपीएफ क्लबका बक्सर सशस्त्र प्रहरी परिचर पुरन राईले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पदक जित्दै संगठन र देशको प्रतिष्ठा बढाएका छन् । उनको खेलकुद क्षेत्रको उत्कृष्ट योगदानलाई समेत मिसन छनोटमा समेटिएको हो ।

सशस्त्र प्रहरी प्रवक्ता थापाका अनुसार सशस्त्र प्रहरी बल नेपाल संयुक्त राष्ट्रसंघको अनुरोधमा दक्षिण सुडानस्थित शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसनमा फर्म्ड पुलिस युनिटमार्फत लामो समयदेखि योगदान दिँदै आएको छ ।

यसपटक पहुँच वा सिफारिसका आधारमा हुने भनिएको ‘भिआइपी कोटा’लाई निरुत्साहित गर्दै, वास्तविक रूपमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई यूएन मिसनमा सहभागी गराइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्