नेभिगेशन
सशस्त्र प्रहरी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो गाँजासहित ४ भारतीय सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सशस्त्र प्रहरीले १० किलो ९६० ग्राम गाँजासहित चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

आज थाइल्याण्डको बैंककबाट एयर एसियाको उडान नं. FD182 मार्फत काठमाडौँ आएका उनीहरूलाई  दिउँसो करिब २ बजे सशस्त्र प्रहरी बल नेपाल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेस (गौचर) को टोलीले पक्राउ गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेमा भारतका ३८ वर्षीया शाजिया, ४८ वर्षीय रैश अहमद, ७२ वर्षीया फात्मा र ११ वर्षीय बालक हादी अहमद रहेका छन्।

सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार  उनीहरूले ल्याएको लगेजभित्र कफी र चकलेटका प्याकेटमा गाँजा लुकाईछिपाई राखिएको अवस्थामा फेला पारिएको हो। नियमित सुरक्षा जाँचका क्रममा शंकास्पद देखिएपछि गरिएको सूक्ष्म जाँचमा उक्त गाँजा बरामद गरिएको जनाइएको छ।

नियन्त्रणमा लिइएका चारै जना र बरामद गाँजालाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्