सिराहा। सशस्त्र प्रहरीले सिराहाको नवराजपुर गाउँपालिकाको तमसियाबाट ठुलो परिमाणमा गाँजा बरामद गरेको छ। नवराजपुर गाउँपालिका-३ स्थित तमसियामा खेतको परालको कुनिउमा लुकाई छिपाई राखिएको ठूलो परिमाणको गाँजा बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
शनिबार राति करिब ८ बजे विशेष सूचनाको आधारमा डीएसपी नरेश कुमार खड्काको नेतृत्व रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म इनर्वाबाट सशस्त्र प्रहरी नायब निरीक्षक राम अयोध्या महतोको कमाण्डमा गएको ७ जनाको गस्ती टोली खटिएको थियो। खोजी कार्यका क्रममा परालको कुनिउमा लुकाइएको २ बोरा (४१ केजी ५०० ग्राम) गाँजा फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजालाई आवश्यक कानुनी कारवाहीका लागि आज इलाका प्रहरी कार्यालय महेशपुर पतारीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
हाल सीमा सुरक्षा गुल्म इनर्वाको नेतृत्व डीएसपी खड्काले सम्हालिरहेका छन्। सफल कमाण्डको क्षमता भएका डीएसपी खड्का एक हप्ता अगाडि मात्र सशस्त्र प्रहरी बल नं. ३० गण बाँकेबाट सरुवा भई इनर्वा आएका हुन्।

(डीएसपी खड्काले कैलालीमा विष्फोट पदार्थ बरामद गर्दा)
सीमा सुरक्षा गुल्म खोनपुरको प्रमुख रहँदा पनि डीएसपी खड्काले उल्लेखनीय सफलता हासिल गरेका थिए। २०८० असार २१ गते कैलालीको कैलारी गाउँपालिका–३ खोनपुरबाट भारतबाट नेपालतर्फ आउँदै गरेका भारतको लखिमपुर खिरी, चन्दनचौकी निवासी ४२ वर्षीय शिया गुप्तालाई विष्फोटक पदार्थमा प्रयोग हुने पहेँलो गन्धक २९ केजी ५०० ग्रामसहित नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको थियो।
यसअघि पनि सशस्त्र प्रहरी बेस तुलसीपुरको कमाण्ड सम्हाल्दा पनि डीएसपी खड्काले शान्ति सुरक्षा मजबुत बनाउन तथा नदिजन्य पदार्थको अवैध उत्खनन नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए।
सशस्त्र प्रहरी बलको केन्द्रीय, प्रदेश तथा जिल्ला नेतृत्वको निर्देशन बमोजिम संगठनले दिएको जिम्मेवारीलाई कडाइका साथ पालना गर्दै सीमा सुरक्षा तथा अपराध नियन्त्रणमा निरन्तर सक्रिय रहने सशस्त्र प्रहरी अधिकृतमा डीएसपी खड्का पर्ने गर्छन् ।