नेभिगेशन
सशस्त्र प्रहरी

देश, जनता र बर्दीको शान कायम गर्नु सशस्त्र प्रहरीको प्राथमिकता हो: आईजीपी अर्याल

काठमाडौँ   २५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा सशस्त्र प्रहरी बल नेपालको भूमिका, चुनौती र भावी रणनीतिबारे एक दिने अन्तरक्रिया तथा विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालय, हलचोकमा  आयोजित उक्त कार्यक्रम सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालले २५औँ वसन्त पार गर्दा यसलाई केवल उत्सवका रूपमा मात्र नभई विगतमा भएका काम–कारबाहीको समीक्षा, उपलब्धि, चुनौती र भावी रणनीतिमाथि गम्भीर छलफल गर्ने अवसरका रूपमा लिएको बताए। उनले आगामी दिनमा संगठनलाई थप प्रभावकारी ढंगले अघि बढाउन प्रतिबद्ध रहेको उल्लेख गर्दै सकल दर्जालाई मुलुकप्रति बफादार भई आम जनताको सेवा, संगठनको हित र बर्दीको शान कायम हुने गरी कार्य गर्न निर्देशन दिए।

उनले सशस्त्र प्रहरी बल नेपालले स्थापना कालदेखि नै देशको शान्ति सुरक्षा, विपद् व्यवस्थापन, सीमा सुरक्षा तथा राजस्व संकलनजस्ता क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको बताए। यस किसिमको अन्तरक्रिया तथा विचार गोष्ठीले विगतका उपलब्धिबाट प्रेरणा लिन, वर्तमान सुरक्षा चुनौतीको सामना गर्न तथा भावी रणनीति तय गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास उनले व्यक्त गरेका छन् ।

महानिरीक्षक अर्यालले द्वन्द्वकाल, शान्ति प्रक्रिया, २०७२ सालको महाभूकम्प, बाढी, पहिरो, हिमपहिरो, डुबान र आगलागीजस्ता विपद् उद्धार कार्यमा सशस्त्र प्रहरी बल नेपाल अग्रपंक्तिमा रहेर कार्य गर्दै आएको उल्लेख गरे। साथै, अन्तर्राष्ट्रिय खुला सीमामा नियमित गस्ती, लागूऔषध ओसारपसार, तस्करी तथा विभिन्न आपराधिक गतिविधि नियन्त्रणमा समेत संगठन सक्रिय रहेको उनले बताए।

सशस्त्र प्रहरी बल नेपालले स्थापना भएको २५ वर्ष पूरा गरी रजत महोत्सव मनाइरहँदा हालसम्मका संस्थागत योगदानको समीक्षा र भावी चुनौतीको सामना गर्न रणनीति तर्जुमा गर्ने उद्देश्यले सुरक्षाविद्, सीमाविद्, विपद् विज्ञ, पूर्व सुरक्षाकर्मी तथा सम्बन्धित विज्ञहरूको सहभागितामा उक्त कार्यक्रम आयोजना गरिएको थियो।

अन्तरक्रिया कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाडा मगरले “सशस्त्र प्रहरी बल नेपालको २५ वर्षे यात्रा: भूमिका, उपलब्धि र संस्थागत सिकाइ” विषयमा प्रस्तुति दिँदै सीमित स्रोतसाधनका बाबजुद पनि संगठनले प्राप्त कार्यादेश उत्कृष्ट रूपमा निर्वाह गर्दै आएको बताए।

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका अध्यक्ष डा. आमोद मणि दीक्षितले विपद् उद्धारको क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल जनमानसमा ‘आपद् विपद्मा सशस्त्र प्रहरी हाम्रो साथी’को रूपमा परिचित हुन सफल भएको बताए।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेश प्रसाद भट्टले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको र पछिल्ला दिनमा हिमाली क्षेत्रमा समेत उद्धारमा सक्रिय रहेको बताए। उनले विपद् व्यवस्थापनको क्षेत्रमा संगठनको संस्थागत विकास, स्रोतसाधन, तालिम तथा क्षमता अभिवृद्धिका लागि राज्यले थप बजेट र लगानी बढाउनुपर्ने आवश्यकता औँल्याए।

अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र कुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपाल राष्ट्रिय गौरवको संस्था भएको उल्लेख गर्दै विपद् व्यवस्थापन क्षेत्रमा यसलाई थप प्रभावकारी बनाउन प्रविधि, स्रोतसाधन सम्पन्न तथा कानुनी रूपमा डेडिकेटेड फोर्सका रूपमा परिचालन गर्नुपर्ने बताए।

अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले विपद् व्यवस्थापनमा प्रतिकार्यभन्दा पूर्वतयारीमा बढी जोड दिनुपर्ने बताए। उनले समुदाय तथा सबै सरोकारवाला निकायसँग सहकार्य र समन्वयमा कार्य गर्नु आवश्यक रहेको बताए।

कार्यक्रममा सुरक्षाविद् डा. ईन्द्र अधिकारीले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन पूर्वतयारी, सही सूचना, आवश्यक स्रोतसाधन, संरचनात्मक विकास तथा उच्च भू–भागमा उद्धारका लागि हेलिकप्टरको व्यवस्था आवश्यक रहेको बताए।

अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक डा. गोविन्द प्रसाद थापाले सुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी यस्ता अन्तरक्रिया कार्यक्रम अत्यन्त आवश्यक रहेको बताए। उनले यस क्षेत्रमा सरकार र समुदाय दुवैको ठूलो भूमिका रहने भएकाले सशस्त्र प्रहरी बल नेपालले समुदायस्तरमै तालिम तथा अनुशिक्षण कार्यक्रम सञ्चालन गर्दै समन्वयात्मक ढंगमा कार्य गर्दै आएको बताए।

नापी विभागका पूर्व महानिर्देशक बुद्धिनारायण श्रेष्ठले सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल दत्तचित्त भएर कार्य गर्दै आएको उल्लेख गर्दै भविष्यमा नेपाली भूमि अतिक्रमण हुन नदिन संगठनलाई आवश्यक भौतिक पूर्वाधार र आधुनिक डिजिटल प्रविधिसहित सुदृढ बनाउनुपर्ने बताए।

नापी विभागका पूर्व महानिर्देशक तोयानाथ बरालले अन्तर्राष्ट्रिय सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपालको परिचालनसम्बन्धी कानुनी स्पष्टता आवश्यक रहेको बताए। साथै सीमा सुरक्षासम्बन्धी खोज तथा अनुसन्धान, प्रविधिमैत्री प्रणाली र थप क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने उनले बताए।

अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले सीमा सुरक्षा सम्बन्धी छुट्टै गोष्ठी सञ्चालन गर्नुपर्ने तथा सीमा क्षेत्र विकासका लागि सरकारले आवश्यक बजेट छुट्याउनुपर्ने बताए।

नापी विभागका महानिर्देशक प्रकाश जोशीले सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपालले फिल्ड तहमा उत्कृष्ट कार्य गर्दै आएको बताए। उनले सीमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालका बोर्डर आउट पोस्टको संख्या बढाउनुपर्ने आवश्यकता औँल्याए।

नापी विभागका पूर्व महानिर्देशक पुण्य प्रसाद वलीले आधुनिक प्रविधिको प्रयोगसँगै सीमा सुरक्षामा परिचालित फौजको संख्या वृद्धि गर्नुपर्ने बताए।

सशस्त्र प्रहरी बल गठन आयोगका अध्यक्ष तथा पूर्व सचिव खेमराज रेग्मीले सुरक्षा निकायहरू राष्ट्रिय आवश्यकता र गौरवको प्रतीक भएको बताए। उनले तत्कालीन सशस्त्र विद्रोह नियन्त्रणका लागि गठन भएको सशस्त्र प्रहरी बल नेपालले शान्ति सुरक्षा कायम गर्न अतुलनीय योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै सबै सुरक्षा निकायले भएका कमजोरी स्वीकार गरी सुधार गर्दै आत्मबलका साथ अघि बढ्नुपर्ने बताए।

सुरक्षाविद् गेजा शर्मा वाग्लेले आधुनिकीकरणसँगै चुनौतीका साथै अवसर पनि सृजना भएको उल्लेख गर्दै सुरक्षा संयन्त्रलाई सुदृढ गर्दै नीति, रणनीति र कार्ययोजनासहित अघि बढ्नुपर्ने बताए।

अवकाश प्राप्त रथी सदिप बहादुर शाहले देश र जनताको सुरक्षा अनिवार्य आवश्यकता भएको बताए। उनले शान्ति सुरक्षाको प्रभावकारिता बढाउन समय–समयमा सुरक्षा निकायहरूबीच अपरेशनल संयुक्त अभ्यास आवश्यक रहेको बताए।

अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सनत कुमार बस्नेतले आन्तरिक तथा बाह्य सुरक्षा क्षेत्रमा समयसापेक्ष रूपमा अघि बढ्नुपर्ने बताए। उनले आवश्यकता अनुसार विशेष सुरक्षा योजनासहित विभिन्न अपरेशनल गतिविधि सञ्चालन गर्नुपर्ने बताए।

अवकाश प्राप्त उपरथी टंक प्रसाद भट्टले बाह्य तथा आन्तरिक सुरक्षाजस्तो संवेदनशील विषयमा स्पष्ट राष्ट्रिय सुरक्षा ऐन आवश्यक रहेको बताए। अवकाश प्राप्त उपरथी पूर्ण सिलवालले इन्टेलिजेन्स र प्रविधिको प्रयोगसँगै सुरक्षा निकायहरूबीच युनिफाइड कमाण्ड अवधारणा कार्यान्वयनमा ल्याए फिल्ड तहमा प्रभावकारी हुने बताए।

अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले नवीन सुरक्षा चुनौतीहरू बढिरहेको अवस्थामा सुरक्षा निकायका पूर्व कर्मचारीको अनुभव र क्षमतालाई राष्ट्रले सुरक्षा कार्यमा सदुपयोग गर्नुपर्ने बताए।

अन्तरक्रिया कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू रविराज थापा, सुवोध कुमार अधिकारी, राजेश श्रेष्ठ, परराष्ट्र, गृह र अर्थ मन्त्रालयका सह–सचिवहरू, डा. नरेश रिमाल, सह–प्राध्यापक डा. पिताम्बर भण्डारी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरूको सहभागिता रहेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्