नेभिगेशन
सशस्त्र प्रहरी

सीमावर्ती नागरिकका लागि सशस्त्र प्रहरीको उपहार: बारामा शौचालय र प्रतिक्षालय निर्माण

बारा । सशस्त्र प्रहरी बल, नेपालको २५औँ स्थापना दिवस २०८२ को  अवसरमा बारा जिल्लाको सीमावर्ती क्षेत्रमा  क्विक इम्प्याक्ट प्रोजेक्ट (QIP) अन्तर्गत निर्माण गरिएका सार्वजनिक पूर्वाधारहरूको उद्घाटन गरिएको छ।

माघ ५ गते दिउँसो बाराको सिम्रौनगढ नगरपालिका–९, बसवरिया स्थित झरोखर सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नं. १२ गण बाराले निर्माण गरेको दुई कोठे सार्वजनिक शौचालयको उद्घाटन गरिएको हो। सिम्रौनगढ नगरपालिकाका प्रमुख किशोरी प्रसाद कलवारले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा सिम्रौनगढ नगरपालिकाकी उप–प्रमुख नजमु शेहर, सशस्त्र प्रहरी बल नं. १२ गण बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुम बहादुर केसी, नगरपालिकाका वडा नं. ६, ७, ८ र ९ का वडा अध्यक्षहरू तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यसैगरी, सोही दिन सोमबार अपराह्न बारा जिल्लाकै सुवर्ण गाउँपालिका–३, संतगंज सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नं. १२ गणद्वारा निर्माण गरिएको प्रतिक्षालयको पनि उद्घाटन गरिएको छ। प्रतिक्षालयको उद्घाटन सुवर्ण गाउँपालिकाका प्रमुख राजेश प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सशस्त्र प्रहरी बाराले जानकारी दिएको छ।

उद्घाटन कार्यक्रममा नं. १२ गण हे.क्वा. बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक केसी, सुवर्ण गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष रामक्षत्री प्रसाद यादव, बी.ओ.पी. कवहीगोठबाट सशस्त्र प्रहरी निरीक्षक विश्वराज कार्की लगायत स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो।

सशस्त्र प्रहरी बल नं. १२ गण बारामा एक वर्षे कार्यकाल पूरा गरी सरुवा भएका गणपति सशस्त्र प्रहरी उपरीक्षक केसीको नेतृत्वकालमा जिल्लामा सुरक्षा, सीमा निगरानी तथा सामुदायिक सहयोगका क्षेत्रमा उल्लेखनीय कार्यहरू भएको भन्दै जिल्लाका आम नागरिकले सन्तुष्टि र खुसी व्यक्त गरेका छन्। केसीको  कार्यकालमा क्विक इम्प्याक्ट प्रोजेक्ट मार्फत स्थानीय आवश्यकतामा आधारित पूर्वाधार निर्माणले नागरिक–सुरक्षा निकायबीचको विश्वास थप मजबुत बनेको स्थानीयको भनाइ छ।

सीमावर्ती क्षेत्रका नागरिकको जीवनस्तर सुधार तथा सार्वजनिक सेवामा पहुँच बढाउने उद्देश्यले निर्माण गरिएका यी पूर्वाधारहरूले दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्