नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरीको २५ औं स्थापना दिवसमा देशव्यापी सामाजिक तथा जनचेतनामूलक अभियान

काठमाडौं । २५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपालले देशका विभिन्न स्थानमा लागूऔषध दुव्र्यसनी विरुद्ध जनचेतना, सरसफाइ, पूर्वाधार निर्माण तथा सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. २० गण (विपद् उद्धार) काठमाडौंले काठमाडौं महानगरपालिका–८ देवपतनस्थित पशुपतिनाथ मन्दिर क्षेत्रको ब्यूटीफुल पार्क तथा मृगस्थली क्षेत्रमा सरसफाइ गर्नुका साथै सर्वसाधारण तथा दर्शनार्थीहरूको उपस्थितिमा लागूऔषध दुव्र्यसनी सम्बन्धी सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको छ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नं. २२ गुहेश्वरी गण भक्तपुरको परिसरमा जिल्ला प्रहरी परिसर भक्तपुरको सहकार्यमा गणमा कार्यरत ८० जना सशस्त्र प्रहरी कर्मचारीहरूलाई लागूऔषध दुव्र्यसनी सम्बन्धी चेतनामूलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ। साथै चाँगुनारायण नगरपालिका–१ स्थित वेशीगाउँ शिवमन्दिर परिसरमा लागूऔषध विरुद्धको सडक नाटक पनि प्रदर्शन गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

त्यसैगरी गुल्मीको रेसुङ्गा नगरपालिका–१२ स्थित राष्ट्रिय रानीपोखरी आधारभूत विद्यालयमा सशस्त्र प्रहरी बल नेपाल नं. ३७ गुल्म गुल्मीले शिक्षक, शिक्षिका तथा विद्यार्थीहरूलाई लक्षित गरी लागूऔषध दुव्र्यसनी सम्बन्धी सचेतनामूलक सडक नाटक प्रस्तुत गरेको छ।

ब्यानर तथा होर्डिङ बोर्ड स्थापना

२५औँ सशस्त्र प्रहरी दिवसकै अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं. ३० बागेश्वरी गण बाँकेले नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहस्थित यात्रु शाखामा लागूऔषध नियन्त्रणसम्बन्धी सन्देशसहित ब्यानर टाँसेको छ। त्यस्तै, बिओपी पचुइले कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–९ दिपाघाट सीमा क्षेत्रमा लागूऔषध प्रयोग तथा ओसारपसारसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी दिने होर्डिङ बोर्ड स्थापना गरेको छ।

Quick Impact Project (QIP) अन्तर्गत पूर्वाधार निर्माण

सशस्त्र प्रहरी बल नेपालको Quick Impact Project (QIP) अन्तर्गत भानु नगरपालिका र नं. २३ मनकामना गण तनहुँको समन्वयमा भानु नगरपालिका–९ अर्चलधारामा दुईवटा ढुङ्गेधाराको निर्माण गरी समुदायलाई हस्तान्तरण गरिएको छ। त्यस्तै, २५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा नं. २४ कालिका गण कास्कीले पोखरा महानगरपालिका–५ सँगको सहकार्यमा मालेपाटन विचारी चोकमा तीनवटा ढुङ्गेधारा निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ।
यसै क्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १ कञ्चनजंघा गुल्म ताप्लेजुङले कारागार प्रशासक कुलेन्द्र खवासलाई मनोरञ्जन तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ। पाँचथर जिल्लाको फिदिम नगरपालिका–१० याङनाममा सशस्त्र प्रहरी बल नेपाल नं. २ गुल्म पाँचथर र जनसेवा समाजको सहकार्यमा विपन्न तथा अशक्त परिवारका लागि घर निर्माण गरिएको छ।

विद्यालयस्तरमा जनचेतनामूलक कक्षा

सशस्त्र प्रहरी बल नेपाल नं. १ श्रीअन्तु गण इलामले इलाम नगरपालिका–७ स्थित श्री आदर्श माध्यमिक विद्यालयका विद्यार्थी तथा युवा रेडक्रस सदस्यहरूलाई आगलागी नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।

सुरक्षा बेस बाहुनीले मोरङको बेलवारी नगरपालिका–९ स्थित श्री जनता नमुना माध्यमिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरूलाई लागूऔषध दुव्र्यसनी सम्बन्धी कक्षा सञ्चालन गरेको छ। त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल नं. २३ मनकामना गण तनहुँले भानु नगरपालिका–२ स्थित श्री होमराज सोहोनी शारद शिक्षा सदन माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई लागूऔषध दुरुपयोग विरुद्ध सचेतना प्रदान गरेको छ।
नं. ३२ गुल्म मनाङले ङिस्याङ गाउँपालिका–१ तलेखुस्थित लालिगुराँस आधारभूत विद्यालयका १५ जना छात्रछात्रालाई लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार न्यूनिकरणसम्बन्धी कक्षा सञ्चालन गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. २९ ज्वालामाई गण दाङले राप्ती गाउँपालिका–१ भालुवाङस्थित ने.रा.मा.वि. भालुवाङका विद्यार्थीहरूलाई शीतलहरबाट बच्ने उपाय र लागूऔषध नियन्त्रणसम्बन्धी जनचेतना प्रदान गरेको छ। नं. २५ चण्डिका गण पर्वतले कुश्मा नगरपालिका–४ स्थित नारायण माध्यमिक विद्यालयमा विपद् व्यवस्थापनसम्बन्धी कक्षा सञ्चालन गरेको छ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ लमही दाङले लमही नगरपालिका–७ हसनापुरस्थित श्री अर्जुन माध्यमिक विद्यालयमा शीतलहर, हुस्सु तथा जाडो मौसमबाट बच्ने उपायबारे सचेतनामूलक कक्षा सञ्चालन गरेको छ भने नं. ४२ रिजर्भ गण बाँकेले राप्तीसोनारी गाउँपालिका–८ स्थित शिवशक्ति माध्यमिक विद्यालय पेरानीमा शीतलहरसम्बन्धी जनचेतना प्रदान गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल प्युठान गुल्मले प्युठान नगरपालिका–३ सापडाँडास्थित शारदा माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शीतलहर पूर्वतयारी, हुस्सु तथा त्यसले पार्न सक्ने असर र अपनाउनुपर्ने सावधानीबारे कक्षा सञ्चालन गरेको छ। त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ वाहिनी मुख्यालय कैलालीले पौष १७ गते गोदावरी नगरपालिका–१ स्थित दुर्गालक्ष्मी उच्च माध्यमिक विद्यालयमा आगलागी सुरक्षा सम्बन्धी सचेतनामूलक कक्षा सञ्चालन गरेको छ।

सरसफाइ कार्यक्रम

बिओपी सिर्सिया र स्थानीय बासिन्दाको सहभागितामा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१ छप्कैया स्थित दुर्गामाई मन्दिर परिसरमा सरसफाइ गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपुरले हेटौंडा उपमहानगरपालिका–८ स्थित सन्तानेश्वर महादेव धाम परिसरका मन्दिर, ऐतिहासिक ढुङ्गेधारा तथा संरचनाहरूको सरसफाइ गरेको छ।

त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल रोल्पा गुल्मले रोल्पा नगरपालिका–२ रेउघास्थित गणेश मन्दिर परिसरमा सरसफाइ गरेको छ भने वार्षिकोत्सवको अवसर पारेर सशस्त्र प्रहरी बल नेपाल नं. ४० गण पिलुवा बाराले जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित सहजनाथ मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्