नेभिगेशन
सशस्त्र प्रहरी

निर्वाचन सुरक्षामा कुनै कमजोरी नहोस् : सशस्त्र प्रहरी प्रमुख अर्याल

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षामा कुनै पनि प्रकारको कमजोरी नहुने गरी जिम्मेवारीका साथ खटिन सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयमा प्रमुखको जिम्मेवारी सम्हाल्न लागेका अधिकृतहरूलाई निर्देशन दिँदै आईजीपी अर्यालले निर्वाचन लक्षित सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखेर प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभयो। उनले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन उच्च व्यावसायिकता र सक्रियता आवश्यक रहेको उल्लेख गरे।

आईजीपी अर्यालले कमजोर कमाण्ड र लापरवाही गर्ने कमाण्डरमाथि तत्काल कारबाही गरिने चेतावनी दिँदै उच्च मनोबलका साथ जिम्मेवारी पूरा गर्न निर्देशन दिए। साथै, पदीय जिम्मेवारीमा रहँदा बदमासी वा गैरकानुनी कार्य गरेमा कडा कारबाही हुने स्पष्ट पारेका छन् ।

उनले निर्वाचन सफल बनाउन मातहतका कर्मचारीहरूलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै परिचालन गर्न निर्देशन दिएका हुन् । संगठनको नीति र सोचअनुसार आ–आफ्नो जिम्मेवारीमा अझ सक्रिय भएर काम गर्नुपर्नेमा जोड दिँदै राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन विशेष ध्यान दिनुपर्ने बताए।

आईजीपी अर्यालले सशस्त्र प्रहरी बल नेपालका सबै इकाइहरूले आर्थिक पारदर्शिता कायम गर्दै भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउनुपर्ने उल्लेख गरेका छन् । साथै, सीमावर्ती क्षेत्रमा खटिएका इकाइहरूलाई गस्ती, पेट्रोलिङ तथा अन्य अपरेशनल गतिविधिहरूलाई थप सक्रिय बनाउँदै सुरक्षा व्यवस्था सुदृढ गर्न निर्देशन दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्