नेभिगेशन
सशस्त्र प्रहरी

एपीएफ स्कुल कोहलपुरको छैठौँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

कोहलपुर। एपीएफ स्कुल कोहलपुरको छैठौँ विद्यालय स्थापना दिवस तथा अभिभावक दिवस–२०८२ भव्य तथा उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्याबासिनी बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) दीपेन्द्र कुँवरले एपीएफ स्कुलले छोटो समयमै शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको उल्लेख गर्दै विद्यालयको प्रशंसा गरेका थिए। उनले अनुशासन, गुणस्तरीय शिक्षा तथा नैतिक मूल्यको विकासमा विद्यालयले खेलेको भूमिकालाई उदाहरणीय बताउँदै शिक्षा नै राष्ट्र निर्माणको आधार भएको धारणा व्यक्त गरे।

डिआईजी कुँवरले भविष्यमा पनि शिक्षाको विकास र सुधारका लागि सशस्त्र प्रहरी बल नेपाल निरन्तर सकारात्मक सोचका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रमका क्रममा विद्यार्थीहरूले विज्ञान तथा कला विधासँग सम्बन्धित विविध सिर्जनात्मक र प्रभावशाली प्रस्तुतिहरू प्रस्तुत गरेका थिए। नृत्य, नाटक, विज्ञान प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रमहरूले उपस्थित सबैको ध्यान आकर्षित गरेको थियो। प्रस्तुतिहरूले विद्यार्थीहरूको प्रतिभा, अनुशासन र सिर्जनशीलताको स्पष्ट झल्को दिएको सहभागीहरूले बताएका छन्।

कार्यक्रमले विद्यालय र अभिभावकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै शैक्षिक गुणस्तर अभिवृद्धिमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको अतिथिहरूले बताएका थिए।

उक्त कार्यक्रममा एपीएफ स्कुलका कमाण्डेन्ट सशस्त्र प्रहरी उपरीक्षक (एसपी) नरबहादुर रावत, बाँके–बर्दिया क्षेत्रका सशस्त्र प्रहरी प्रमुखहरू, सेवानिवृत्त वरिष्ठ अधिकृतहरू, विद्यालय व्यवस्थापन समिति सदस्यहरू, अभिभावकहरू, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरू, शुभचिन्तकहरू, विद्यालयका प्रिन्सिपल, शिक्षक, सहयोगी कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका दर्जनभन्दा बढी व्यक्तिहरूलाई सम्मान गरिएको थियो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा नौबस्ता प्रहरी तालिम केन्द्रका कमाण्डेन्ट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नेपाल नरेन्द्र बमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा नवनिर्मित सरस्वती हलको उद्घाटन गरिएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्