काठमाडौं । विवादमा तानिएका सशस्त्र प्रहरीका डीएसपी विजय हमाल छानबिनका लागि तानिएका छन् । सिरहाको बरियारपट्टी सीमाक्षेत्रमा खटिएका डीएसपी हमाललाई अनुसन्धानका लागि महोत्तरीस्थित छिन्नमस्ता बाहिनीमा तानिएको हो।
स्थानीयसँग भएको विवाद र भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरेको विषयमा प्रश्न उठेपछि उनलाई जिम्मेवारीबाट तानेर छानबिन अघि बढाइएको सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी विष्णुप्रसाद भट्टले बताएका छन्।
घटना हुलाकी राजमार्ग आसपासको क्षेत्रमा भन्सार छली गरी ल्याइएको डिजेल नियन्त्रणमा लिने क्रममा भएको थियो। सो क्रममा प्रहरी र स्थानीयबीच भनाभन भएको र स्थिति तनावपूर्ण बनेको बताइएको छ। सार्वजनिक भएको भिडियोमा डीएसपी हमाल आक्रोशित देखिन्छन् र स्थानीयलाई ‘तस्कर’ भनेर सम्बोधन गरेको सुनिन्छ।
यसप्रति स्थानीयले कडा आपत्ति जनाएका छन्। उनीहरूले प्रहरी स्वयं भारतीय नम्बर प्लेट भएको सवारी साधन प्रयोग गर्दै आएको आरोप लगाउँदै आफूहरूमाथि मात्रै तस्करीको आरोप लगाउनु अन्यायपूर्ण भएको बताएका छन्। भिडियोमा हमाल हेलमेट लगाएर भारतीय नम्बरको मोटरसाइकल चलाउँदै आएको देखिन्छ।
विवादपछि स्थानीयले प्रतिनिधिसभा सदस्य शिवकुमार यादवलाई घटनास्थलमै बोलाएका थिए। उनले घटनाको अवलोकनपछि सबै स्थानीयलाई तस्कर भन्नु कानुनी र नैतिक दुवै हिसाबले गलत भएको प्रतिक्रिया दिएका छन्। साथै, प्रहरी पोशाकमै विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्नुले नागरिकमा त्रास सिर्जना गर्ने भएकाले यसको छानबिन हुनुपर्ने बताएका छन्।
यसबीच, सशस्त्र प्रहरी बल सिरहाका एसपी सुमनजंग थापाले पनि उक्त विवादकै कारण डीएसपी हमाललाई मधेश प्रदेश बाहिनी–२, महोत्तरीस्थित हेडक्वाटरमा तानिएको पुष्टि गरेका छन्। स्थानीयवासीले भने घटनामा संलग्न प्रहरीमाथि उचित कारबाहीको माग गरेका छन्।