काठमाडौं । अनिवार्य अवकाश भएका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्याललाई फौजी परम्परा अनुसार स–सम्मान बिदाई गरिएको छ । सोही अवसरमा आईजीपी अर्यालले नवनियुक्त आईजीपी नारायणदत्त पौडेललाई संगठन प्रमुखको छडी र सशस्त्र प्रहरी बल नेपालको झण्डा हस्तान्तरण गरेका हुन् ।
आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित विशेष समारोहमा अर्याललाई नवनियुक्त आईजीपी पौडेलले मायाको चिनो प्रदान गर्दै बिदाई गरेका थिए भने सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याललाई संघकी उपाध्यक्ष श्रीमती सावित्रा कुमारी पौडेलले फुलमालासहित बिदाई गरेकी हुन् ।
सोही अवसरमा अर्यालले नवनियुक्त पौडेललाई संगठनको सम्पूर्ण जिम्मेवारी बर–बुझारथ समेत गरे। समारोहमा अर्यालले नागरिक सुरक्षाको जिम्मेवारी बोकेको सुरक्षा संगठनको सर्वोच्च तहमा पुग्नु र सफलतापूर्वक अवकाश हुनुलाई जीवनको महत्वपूर्ण उपलब्धी तथा गौरव महशुस गरेको बताउँदै संगठनलाई परिवारको रुपमा लिइ अनुशासन, त्याग, इमान्दारिता र नेतृत्वको साँचो अर्थ सिक्ने मौका मिलेको समेत बताए।

संगठन सुधार केवल एक प्रमुखको कार्यकालमा शुरु भएर अर्को प्रमुखको कार्यकालमा सकिने विषय नभई निरन्तर चलिरहने प्रक्रिया भएको बताउँदै अर्यालले राष्ट्र, संगठन र जनताको सुरक्षासँगै मातहत सशस्त्र प्रहरी कर्मचारीहरुको हितलाई सर्वोपरी राखी काम गरेको उल्लेख गरे।
उनले सशस्त्र प्रहरी बल नेपालको बर्दीले सज्जनलाई भर र अपराधीलाई डरको प्रतिकको रुपमा विकास गर्दै लैजानुपर्ने बताउँदै आफ्नो सेवाकालको दौरानमा साथ, सहयोग र उर्जा दिने राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई हार्दिक धन्यवाद समेत दिएका थिए।
त्यस्तै नवनियुक्त आईजीपी पौडेलले राष्ट्रको सुरक्षामा समर्पित जीवन कहिल्यै अवकाश हुँदैन, यो केवल एउटा अध्यायको समाप्ति र अर्को जिम्मेवार यात्राको शुरुवात रहेको बताउनुहुँदै सेवा निवृत्त हुन लाग्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक अर्याललाई आगामी जीवन सुखद, स्वस्थ, सम्मानित र सफलताको शुभकामनासहित उनको अनुभव, मार्गदर्शन र दृष्टिकोण आगामी दिनहरुमा पनि संगठन लागि मार्गनिर्देशन बनिरहने विश्वास व्यक्त गरेका थिए।
उनले संगठनमा स्थापित मुल्य, मान्यता र परम्परालाई अझ सुदृढ गर्दै सशस्त्र प्रहरी बल नेपाललाई आधुनिक, सक्षम, व्यवसायिक र जनउत्तरदायी संगठनको रुपमा निरन्तर अघि बढाउने बताउँदै संगठन विकास, सुदृढीकरण र संस्थागत सबलीकरणका लागि अघि सारिएका सुशासन, पारदर्शिता र भ्रष्टाचारप्रति शून्य सहनशिलताको नीतिलाई दीर्घकालिन मार्गदर्शनका रुपमा स्थापित गरी थप परिस्कृत र शुद्धिकरण गर्दै लैजाने समेत उल्लेख गरे।

संगठनलाई राज्य र जनताप्रति विश्वास योग्य बनाउन सशस्त्र प्रहरी कर्मचारीहरुको योगदान महत्वपुर्ण हुने बताउनुहुँदै पौडेलले भने–‘उच्च नैतिक आचरण र दृढताले एउटा सशक्त सन्देश दिन्छ, जहाँ आचरण शुद्ध हुन्छ त्यहाँ निर्णय स्पष्ट हुन्छ, जहाँ मन दृढ हुन्छ त्यहाँ नेतृत्व विश्वसनीय हुन्छ ।’
अर्यालको सक्षिंप्त जीवनी तथा विशेष योगदानको बायोग्राफी समेत प्रदर्शन गरिएको उक्त समारोहमा अवकाश प्राप्त आईजीपीगरु, एआईजीहरु, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी लगायत सशस्त्र प्रहरी बल नेपालका सिनियर तथा जुनियर अधिकृत र विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।




