नेभिगेशन
सशस्त्र प्रहरी

सगरमाथा आरोही असई डिक्की र सहायक हवल्दार अनितालाई सशस्त्र प्रहरी प्रमुखको सम्मान

काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोत्से हिमाल सफलतापूर्वक आरोहण गर्ने सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) निम डिक्की शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई सम्मान गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक, स्वयम्भूमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले उनीहरुलाई सम्मान गरेका हुन् ।

सो अवसरमा महानिरीक्षक पौडेलले सगरमाथा तथा लोत्से हिमालको सफल आरोहण गरेकोमा शेर्पा र कार्कीलाई बधाई दिँदै विश्वको सर्वोच्च शिखरमा राष्ट्र तथा संगठनको झण्डा फहराउनु गौरवको विषय भएको बताए। उनले उच्च मनोबल, साहस र दृढ संकल्पका साथ गरिएको उक्त आरोहणले सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीको मनोबल, प्रेरणा र उत्साह बढाएको उल्लेख गरे ।

उनले यस्ता कार्यलाई संगठनले उच्च प्राथमिकताका साथ अगाडि बढाउने बताउँदै हिमाली तथा उच्च पहाडी सीमावर्ती क्षेत्रमा सुरक्षा र आपतकालीन उद्धार क्षमतालाई सुदृढ बनाउन मनाङस्थित पर्वतीय उद्धार तालिम शिक्षालयमार्फत उच्च भू–भाग खोज तथा उद्धारसम्बन्धी तालिम सञ्चालन भइरहेको जानकारी दिए। यसले हिमाली तथा उच्च पहाडी क्षेत्रमा उद्धार तथा सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल थप सक्षम बन्दै गएको उनको भनाइ थियो।

कार्यक्रममा सम्मानित आरोहीद्वय शेर्पा र कार्कीले राष्ट्र तथा संगठनको झण्डा सगरमाथाको चुचुरोमा फहराउन पाउनु गर्वको विषय भएको बताउँदै सफल आरोहणका लागि सहयोग, समन्वय र साथ दिने सशस्त्र प्रहरी बल नेपालसहित सबैप्रति आभार व्यक्त गरेका थिए।

सशस्त्र प्रहरी सहायक हवल्दार कार्कीले जेठ ३ गते बिहान १०ः२० बजे सगरमाथाको सफल आरोहण गरेकी थिइन्। त्यस्तै सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्कीले सोही दिन बिहान ११ः५५ बजे सगरमाथा तथा जेठ ४ गते दिउँसो ३ः२५ बजे लोत्से हिमालको सफल आरोहण गरेकी थिइन्।

सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू पहिलो महिला आरोही हुन्। उनीहरूको ऐतिहासिक सफलताले संगठनभित्र महिला सहभागिता, क्षमता र नेतृत्वलाई थप प्रेरित र उत्साहित बनाउने विश्वास गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्