नेभिगेशन
सशस्त्र प्रहरी

सगरमाथा आरोही सशस्त्र प्रहरीका दुई महिला कर्मचारीलाई एक तह बढुवा

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोहण गर्ने सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकि शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई एक तह बढुवा दिइने भएको छ।

सशस्त्र प्रहरी सहायक निरीक्षक शेर्पाको तत्काल बढुवा प्रक्रिया अगाडि बढाइएको छ भने सशस्त्र प्रहरी सहायक हवल्दार कार्कीलाई हालको दर्जाको न्यूनतम अवधि पुगेपछि हवल्दारमा बढुवा गरिने भएको हो।

जेठ ८ गते सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा आयोजित सम्मान कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले उक्त जानकारी दिएका हुन्।

महानिरीक्षक पौडेलले सगरमाथा तथा लोत्से हिमालको सफल आरोहण गरेका शेर्पा र कार्कीलाई बधाई दिँदै उनीहरूले विश्वको सर्वोच्च शिखरमा राष्ट्र र संगठनको झण्डा फहराउनु गौरवको विषय भएको बताए।

उनले उच्च मनोबल र हौसलासहित सगरमाथाको चुचुरोमा राष्ट्र र संगठनको झण्डा फहराउनु गर्वको विषय भएको उल्लेख गर्दै उनीहरूले गरेको आरोहणले सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीमा उत्साह, प्रेरणा र हौसला थपिएको बताए।

कार्यक्रममा शेर्पा र कार्कीले राष्ट्र र संगठनको झण्डा सगरमाथामा फहराउन पाउनु गौरवको विषय भएको बताउँदै सफल आरोहणका लागि सहयोग, समन्वय र साथ दिने सशस्त्र प्रहरी बल, नेपाल लगायत सबैप्रति कृतज्ञता व्यक्त गरे।

सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले जेठ ३ गते बिहान १०ः२० बजे सगरमाथाको सफल आरोहण गरेकी थिइन् भने सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकि शेर्पाले सोही दिन बिहान ११ः५५ बजे सगरमाथा तथा जेठ ४ गते दिउँसो ३ः२५ बजे लोत्से हिमालको सफल आरोहण गरेकी थिइन्।

सशस्त्र प्रहरी बल, नेपाल का तर्फबाट सगरमाथा र लोत्से हिमाल आरोहण गर्ने निम दिकि शेर्पा तथा सगरमाथा आरोहण गर्ने अनिता कार्की संगठनका पहिलो महिला आरोही हुन्। उनीहरूलाई ब्एँ सम्मानबाट सम्मानित गरिने भएको छ।

उनीहरूको यस ऐतिहासिक सफलताले सशस्त्र प्रहरी बलभित्र महिला सहभागिता, क्षमता र नेतृत्वलाई थप प्रेरित तथा उत्साहित बनाउने विश्वास लिइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्