नेभिगेशन
सशस्त्र प्रहरी

तालिमका क्रममा बेहोस भएका सशस्त्र प्रहरीका ६ जवानको होस फर्कियो, उपचार जारी

काठमाडौं । कैलालीको टीकापुरमा सञ्चालन भइरहेको तालिमका क्रममा बेहोस भएका सशस्त्र प्रहरीका प्रशिक्षार्थीमध्ये काठमाडौं ल्याइएका ६ जनाको होस खुलेको छ। उनीहरूको नेपाल एपीएफ अस्पतालमा उपचार भइरहेको छ।

अस्पताल स्रोतका अनुसार सबै प्रशिक्षार्थीको अवस्था निगरानीमा राखेर उपचार भइरहेको छ र विशेषज्ञ चिकित्सकहरूको टोली निरन्तर खटिएको छ। उनीहरूको स्वास्थ्य सुधारतर्फ उन्मुख रहेको जनाइएको छ।

शुक्रबार टीकापुरस्थित सशस्त्र प्रहरीको राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा तालिम लिइरहेका क्रममा एकैपटक ८ जना प्रशिक्षार्थी बेहोस भएका थिए। तीमध्ये ६ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो।

बेहोस हुने प्रशिक्षार्थीहरूमा बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन्।

यसैबीच, सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले बलम्बुस्थित अस्पताल पुगेर उपचाररत जवानहरूको अवस्थाबारे जानकारी लिएको अस्पतालले जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्