नेभिगेशन
सशस्त्र प्रहरी

महाकालीमा बेपत्ता मामाभान्जा मृत फेला, एक सशस्त्र प्रहरीका जवान

डडेल्धुरा।  डडेल्धुराको परशुराम नगरपालिका–५ बाट गत शुक्रबारदेखि बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान ओमप्रकाश पुनमगर र स्थानीय तीर्थबहादुर थापा मगर सोमबार मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वरुणबहादुर सिंहका अनुसार ५६ वर्षीय तीर्थबहादुर थापा मगरको शव परशुराम नगरपालिका–५ अन्तर्गत महाकाली नदीको कल्पठ्ठे क्षेत्रमा फेला परेको हो। त्यस्तै, सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) परिगाउँमा कार्यरत जवान ओमप्रकाश पुनमगरको शव कञ्चनपुरको ब्रह्मदेवस्थित महाकाली नदी किनारमा भेटिएको छ।

मामाभान्जा नाता पर्ने दुवै जना शुक्रबारदेखि सम्पर्कविहीन भएपछि सुरक्षाकर्मीले खोजी अभियान सञ्चालन गरेका थिए। खोजतलासका क्रममा महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेपछि नदीमा बगेको हुनसक्ने आशङ्कामा खोजी कार्यलाई तीव्र बनाइएको थियो।

खोजीका क्रममा थापाको शव कल्पठ्ठे नजिक महाकाली नदीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। जवान पुनमगरको शव भने नदीले बगाएर कञ्चनपुरको ब्रह्मदेव क्षेत्रसम्म पुर्‍याएको थियो। 

घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्