नेभिगेशन
सशस्त्र प्रहरी

महाकालीमा मृत भेटिएका सशस्त्रका जवानको मृत्यु रहस्यमय, इन्स्पेक्टरसँगै गस्तीमा थिए जवान

कैलाली । सशस्त्र प्रहरी जवान ओमप्रकाश पुन मगर महाकाली नदी किनारमा मृत फेला परेको घटनाले नयाँ मोड लिएको छ।

डडेलधुरास्थित परिगाउँ सीमा क्षेत्रको सशस्त्र प्रहरीको बीओपीबाट नियमित लामो दूरीको गस्तीमा सहभागी भएका सशस्त्र प्रहरी जवान ओमप्रकाश महाकाली नदीको भारततर्फको किनारमा मृत अवस्थामा फेला परेपछि घटना थप रहस्यमय बनेको छ। त्यसपछि सशस्त्र प्रहरी बलले एसपीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ।

सशस्त्र प्रहरी इन्स्पेक्टर नरेशबहादुर चन्दको नेतृत्वमा २१ सदस्यीय टोली जेठ १४ गते सीमाक्षेत्रमा पैदल गस्तीमा निस्किएको थियो। टोलीले १५ जेठको रात हारबोर बीओपीमा बास बसेको थियो। भोलिपल्ट बिहान रोलकलका क्रममा जवान ओमप्रकाश अनुपस्थित भएपछि खोजी कार्य सुरु गरिएको थियो।

सशस्त्र प्रहरीका अनुसार खोजतलासकै क्रममा जेठ १८ गते ओमप्रकाशको शव महाकाली नदीमा, कञ्चनपुर र भारतको उत्तराखण्डस्थित टनकपुर शाखा ब्यारेज नजिक पुलमुनि अड्किएको अवस्थामा भेटिएको थियो। शव भारतीय क्षेत्रमा फेला परेपछि भारतीय फौज सशस्त्र सीमा बल (एसएसबी) ले आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल प्रहरीलाई जानकारी गराएको थियो। त्यसपछि मृतकका दाजु महेन्द्र पुनले शव बुझेर नेपाल ल्याएका थिए।

मृतक जवान ओमप्रकाश डडेलधुराको आलिताल गाउँपालिका–३, चनलाका स्थायी बासिन्दा हुन्। उनकी श्रीमती पनि परिगाउँ बीओपीमै कार्यरत रहेको बताइएको छ।

घटनापछि जवान ओमप्रकाशको मृत्युबारे विभिन्न आशंका उब्जिएका छन्। गस्तीमा सहभागी जवान अचानक बेपत्ता हुँदा समेत घटनाबारे स्पष्ट जानकारी नहुनु र शव फेला परेपछि मात्रै मृत्युको पुष्टि हुनु गम्भीर विषय बनेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र डडेलधुराले घटनाको अनुसन्धान गरिरहेका छन् भने सशस्त्र प्रहरीले समेत आन्तरिक छानबिन अघि बढाएको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार सशस्त्र प्रहरी बलले नम्बर–७ वैद्यनाथ बाहिनीका एसपी देवराज जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। सशस्त्र प्रहरीले घटनाको वास्तविक कारणबारे अहिलेसम्म कुनै निष्कर्ष ननिस्किएको र छानबिनपछि तथ्य बाहिर आउने अपेक्षा गरिएको जनाएको छ।

यसैबीच, मृतक जवान ओमप्रकाशका मामा ५५ वर्षीय तीर्थबहादुर थापाको शव पनि महाकाली नदीमै फेला परेको छ। डडेलधुराको परशुराम नगरपालिका–५ निवासी थापा आइतबार बिहान नदीमा तैरिरहेको अवस्थामा मृत भेटिएका थिए। जोगबुढा अस्पतालमा पोस्टमार्टमपछि तीर्थबहादुरको शव परिवारलाई जिम्मा लगाइएको डडेलधुरा प्रहरीले जानकारी दिएको छ।

डडेलधुरा प्रहरीका अनुसार दुवै घटनाको मृत्यु कारण खुल्न बाँकी रहेको र पोस्टमार्टम रिपोर्टको प्रतीक्षा भइरहेको छ। पोस्टमार्टमपश्चात् जवान ओमप्रकाशको शव कैलालीको गोदावरी क्षेत्रमा अन्त्येष्टि गरिएको बताइएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्