काठमाडौं । सशस्त्र प्रहरी बलका एक असई र एक युवती एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन। करिब एक महिनादेखि बेपत्ता रहेका सशस्त्र प्रहरीका असई शक्ति राम र २६ वर्षीया शर्मिला चौधरी काभ्रेपलाञ्चोकको पाँचखालस्थित सामुदायिक वनमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार मृतकहरूमा पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरी निवासी ३२ वर्षीय असई शक्ति राम र कैलालीको घोडाघोडी नगरपालिका–१ की २६ वर्षीया शर्मिला चौधरी रहेका छन्। शक्ति राम सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ हेडक्वाटर पाँचखालमा कार्यरत थिए।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पाँचखाल नगरपालिका–३ स्थित ठूली सामुदायिक वनमा मौवाको रुखमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा बुधबार बिहान दुवै जनाको शव फेला परेको हो। शव अत्यधिक सडेको अवस्थामा भेटिएकाले घटना केही दिनअघि नै भएको हुनसक्ने अनुमान गरिएको छ।
प्रहरीका अनुसार दुवै जना छुट्टाछुट्टै पासोमा झुण्डिएको अवस्थामा थिए। शव सडिसकेकाले शरीरका केही भाग जमिनमा खसेको अवस्थामा भेटिएको थियो।
वन समितिका प्रतिनिधिहरू सल्लाको खोटो संकलन तथा अनुगमनका लागि वनभित्र पुगेका बेला शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थल पुगेको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको हो।
प्रारम्भिक अनुसन्धानबाट शर्मिला वैशाख १८ गते शक्ति रामलाई भेट्न जाने भन्दै घरबाट निस्किएकी थिइन्। शक्ति राम भने वैशाख १९ गतेदेखि लागू हुने गरी दुई दिनको बिदामा गएका थिए। त्यसयता दुवै जनाको सम्पर्क विच्छेद भएको थियो।
सम्पर्कविहीन भएपछि शक्ति रामका परिवारले वैशाख २१ गते सशस्त्र प्रहरी बल नम्बर १५ हेडक्वाटर पाँचखालमा खोजतलासका लागि निवेदन दिएका थिए। यस्तै शर्मिलाका भाइ रञ्जित चौधरीले वैशाख २५ गते प्रहरी वृत्त बालाजुमा खोजीका लागि निवेदन दिएका थिए।
घटनास्थलबाट बरामद कपडा, कागजात तथा अन्य प्रमाणका आधारमा शवको पहिचान गरिएको प्रहरीले जनाएको छ। दुवै शव पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र मृत्युको वास्तविक अवस्था पत्ता लगाउन थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।