नेभिगेशन
नेपाल प्रहरी

बड्की बैदौलीमा पहिलोपटक प्रहरीको सार्वजनिक सुनुवाइ, लागुऔषध र अनैतिक गतिविधि नियन्त्रणमा प्रतिबद्धता

पश्चिम नवलपरासी। इलाका प्रहरी कार्यालय बेलाटारीले सिमावर्ती तथा पछाडि परेको क्षेत्र बड्की बैदौलीमा पहिलोपटक बृहत् सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ। दुर्गम गाउँमै पुगेर प्रहरी प्रशासनले स्थानीयका गुनासा तथा सुझाव सुनेपछि बासिन्दाले खुसी व्यक्त गरेका छन्।

प्रहरी निरीक्षक शिव क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष रमेश बनियाँ, ट्राफिक प्रहरी सहायक हवल्दार रामु यादव, स्थानीय बुद्धिजीवी रामपृत यादव, विनोद ठाकुर, गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक अभिनन्दन सिंह, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रमोदकुमार यादवलगायत स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो।

कार्यक्रममा स्थानीयवासीले बालबालिकामा गाँजा, भाङलगायत लागुऔषधको प्रयोग र दुर्व्यसन बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेका थिए। साथै खेतीपातीको समयमा सीमावर्ती क्षेत्रबाट घरायसी प्रयोजनका लागि मल ल्याउँदा किसानले अनावश्यक सास्ती भोग्नुपरेको, क्षेत्रमा अनैतिक गतिविधि तथा यौन धन्दा सञ्चालन भइरहेको भन्दै नियन्त्रणका लागि प्रहरीको ध्यानाकर्षण गराएका थिए।

स्थानीयका गुनासा र जिज्ञासाको जवाफ दिँदै प्रहरी निरीक्षक क्षेत्रीले नेपाल प्रहरी कार्ययोजना–२०८० बारे जानकारी गराउँदै शान्ति सुरक्षा कायम गर्न नागरिकको सहयोग अपरिहार्य रहेको बताए। उनले कागजात जाँचका नाममा सर्वसाधारण तथा भारतीय पर्यटकलाई अनावश्यक दुःख नदिन मातहतका प्रहरीलाई निर्देशन दिइएको स्पष्ट पारे।

उनका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कडाइ गरिएकै कारण पछिल्लो समय सडक दुर्घटनाबाट हुने मानवीय क्षतिमा कमी आएको छ।

प्रहरी निरीक्षक क्षेत्रीले चोरी, मदिरा दुरुपयोग, आत्महत्या, बहुविवाह, बालविवाह तथा अन्य सामाजिक अपराधविरुद्ध प्रहरीले शून्य सहनशीलताको नीति अपनाएको उल्लेख गर्दै बालबालिकामा बढ्दो लागुऔषध सेवन नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिने बताए।

उनले हालसम्म इलाका प्रहरी कार्यालय बेलाटारीमा २९३ वटा ठाडो उजुरी दर्ता भएको र ती उजुरीहरूको फर्स्योट प्रक्रिया जारी रहेको जानकारी दिए। साथै नागरिकलाई निर्धक्क भएर नेपाल प्रहरी एपमार्फत समेत उजुरी दर्ता गर्न आग्रह गरे।किसानले मल ल्याउँदा भोग्नुपर्ने समस्या समाधानका लागि सहजीकरण गर्ने तथा गाउँघरमा फैलिँदै गएको लागुऔषध दुर्व्यसन र अनैतिक गतिविधि नियन्त्रणमा प्रभावकारी कदम चाल्ने प्रहरीको प्रतिबद्धतासँगै कार्यक्रम सम्पन्न भएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्