'चितवन। सशस्त्र प्रहरी प्रमुख महानिरीक्षक नारायण दत्त पौडेलले विपद्को कठिन घडीमा नागरिकले खोज्ने भरोसाको संस्थाका रूपमा सशस्त्र प्रहरी बल नेपाललाई स्थापित गराउन विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको योगदान महत्वपूर्ण रहेको बताएका छन्।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा नवनिर्मित स्विमिङ पुलको उद्घाटन गर्दै उनले शिक्षालयले स्थापना कालदेखि नै विपद् जोखिम न्यूनीकरण, उद्धार, प्रतिकार्य तथा मानवीय सेवाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको बताए।
उनले देशका विभिन्न भागमा हुने प्राकृतिक तथा मानव सिर्जित विपद्का घटनामा शिक्षालयबाट प्रशिक्षित जनशक्तिले साहस, समर्पण र व्यावसायिक दक्षताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको उल्लेख गरे। नवनिर्मित स्विमिङ पुलले गोताखोरहरूको क्षमता अभिवृद्धि गर्न तथा जल उद्धारसम्बन्धी तालिमलाई अझ प्रभावकारी, व्यावसायिक र नतिजामुखी बनाउन सहयोग पुग्ने विश्वास पनि उनले व्यक्त गरे।
महानिरीक्षक पौडेलले कुनै पनि सुरक्षा संगठनमा वास्तविक जनशक्ति केवल इच्छाशक्ति र समर्पणबाट मात्र तयार नहुने भन्दै त्यसका लागि गुणस्तरीय तालिम, आधुनिक पूर्वाधार तथा समयानुकूल प्रविधियुक्त उपकरणहरूको आवश्यकता रहने बताए। उनले राष्ट्रको गौरवका रूपमा रहेका गोताखोर, उच्च भू–भाग तथा हिमाली उद्धारक लगायत अति जोखिमयुक्त उद्धार कार्यमा खटिने सशस्त्र प्रहरी कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउने विषयमा गृह मन्त्रालय सकारात्मक रूपमा अघि बढिरहेको जानकारी दिए।
उनले सेती नदीको गहिरो खोँचदेखि त्रिशूली नदीको उर्लंदो भेल तथा अन्य जोखिमपूर्ण जलक्षेत्रमा सशस्त्र प्रहरीका गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्त कर्मचारीहरूले आफ्नो जीवनको समेत पर्वाह नगरी नागरिकको जीवन रक्षाका लागि देखाएको साहस र समर्पणले सम्पूर्ण राष्ट्रलाई गौरवान्वित बनाएको बताए। यस्ता दक्ष तथा समर्पित उद्धारकर्मी उत्पादन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा उनले शिक्षालयप्रति आभारसमेत व्यक्त गरे।
कार्यक्रममा गोरखा जिल्लाको पालुङटार नगरपालिकाका प्रमुख बिवश चिन्तनले गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्त उद्धारकर्मीहरूलाई घटना भएको आधा घण्टाभित्र पुग्न सक्ने गरी देशका विभिन्न स्थानमा परिचालन गर्नुपर्नेमा जोड दिए। उनले यस्ता उद्धार कार्यलाई प्रभावकारी बनाउन स्थानीय तह र सशस्त्र प्रहरीबीचको सहकार्य अत्यन्त आवश्यक रहेको बताए।
त्यसैगरी चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जलजन्य तथा नदीजन्य प्रकोपको जोखिममा परेका नागरिकको उद्धारका लागि पूर्वअभ्यास गर्न सकिने संरचना निर्माण हुनु सकारात्मक कदम भएको बताए।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय वाणिज्य बैंकबीचको सहकार्य सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तर रहँदै आएको उल्लेख गर्दै यसले विपद् व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।
सोही अवसरमा महानिरीक्षक पौडेलले स्विमिङ पुल निर्माणमा सहयोग पुर्याउने विभिन्न संघसंस्थाका प्रतिनिधि तथा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई सम्मानपत्र तथा प्रशंसापत्र प्रदान गरेका थिए।