नेभिगेशन
सशस्त्र प्रहरी

नदीमा हाम फालेका वृद्ध र भेलमा फसेका युवकको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले नारायणी नदीमा हाम फालेका एक वृद्धको सकुशल उद्धार गरेको छ। पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हाम फालेका देवचुली नगरपालिका–११ धारापानीका ६२ वर्षीय झनकप्रसाद पौडेललाई सकुशल उद्धार गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

सशस्त्र प्रहरीका अनुसार आज बिहान नारायणी नदीमा हाम फालेको घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गुल्म पूर्वी नवलपरासीबाट खटिएको  उद्धार टोलीले मोटरबोटको सहायताले उनलाई सकुशल उद्धार गरेको हो।

उद्धारपछि पौडेललाई थप उपचारका लागि चितवनस्थित अस्पताल पठाइएको सशस्त्र प्रहरीले जनाएको छ। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
यसैबीच, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ लार्चास्थित भोटेकोशी नदीमा बीच भागमा अड्किएका एक युवाको पनि सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

भोटेकोशी गाउँपालिका–१ लिस्ती निवासी २३ वर्षीय सञ्जीव विकलाई नदीले बगाएको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट तातोपानीबाट खटिएको टोलीले नदीको बीचमा रहेको ढुंगामा अड्किएको अवस्थामा फेला पारी उद्धार गरेको थियो। उद्धारपछि विकलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्