कैलाली । विपद्को समयमा समुदाय नै पहिलो प्रतिकारकर्ता हुने मान्यतालाई आत्मसात गर्दै सशस्त्र प्रहरी बल नेपाल नं.३४ गण हेडक्वार्टर कैलालीले स्थानीय तहहरूसँगको सहकार्यमा समुदायस्तरमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २१ दिने समुदाय विपद् स्वयंसेवक तालिम सञ्चालनलाई निरन्तरता दिएको छ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालय, मानव स्रोत विभागद्वारा स्वीकृत पाठ्यक्रमका आधारमा सञ्चालन हुने उक्त तालिममा स्थानीय युवायुवतीहरूलाई सहभागी गराई विपद् जोखिम न्यूनीकरण, खोज तथा उद्धार, प्राथमिक उपचार, आगलागी नियन्त्रण, बाढी तथा डुबान उद्धारलगायतका विषयमा सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण प्रदान गरिन्छ। तालिमले विपद्को समयमा समुदायलाई आत्मनिर्भर र सक्षम बनाउने लक्ष्य लिएको छ।

यसअघि घोडाघोडी नगरपालिका र लम्कीचुहा नगरपालिकाका युवाहरूलाई लक्षित गरी तालिम सफलतापूर्वक सम्पन्न भइसकेको छ। त्यसैगरी, २०८३ साल असार ८ गते कैलारी गाउँपालिकाका विभिन्न वडाका ३० जना युवाहरूको सहभागितामा सञ्चालित २१ दिने समुदाय विपद् स्वयंसेवक तालिम पनि सफलतापूर्वक सम्पन्न भएको छ।
तालिममार्फत तयार भएका स्वयंसेवकहरूले विपद् आइपरेको अवस्थामा प्रारम्भिक उद्धार, राहत वितरण, जोखिम व्यवस्थापन तथा क्षति न्यूनीकरणका कार्यमा तत्काल परिचालन हुन सक्ने क्षमता हासिल गरेका छन्। यसले सम्भावित मानवीय तथा भौतिक क्षति कम गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

कैलाली जिल्लामा समुदाय विपद् स्वयंसेवक तालिम सञ्चालन गर्ने अभियान सशस्त्र प्रहरी बल नेपाल नं.७ वैद्यनाथ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिग्विजय सुबेदीको प्रत्यक्ष निर्देशन तथा सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वार्टर कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसीको सक्रिय नेतृत्व, विशेष पहल र निरन्तर अनुगमनमा सञ्चालन हुँदै आएको छ।
डीआईजी सुबेदीले समुदायस्तरमा विपद् व्यवस्थापन क्षमता विकासलाई प्राथमिकतामा राख्दै स्थानीय तहसँग सहकार्य विस्तार गर्ने नीति अघि बढाएका छन् भने एसपी के।सी।ले तालिमको प्रभावकारी कार्यान्वयन, समन्वय र व्यवस्थापनमा अग्रणी भूमिका निर्वाह गर्दै आएका छन्।

स्थानीय सरकार, सुरक्षा निकाय र समुदायबीचको सहकार्यलाई थप मजबुत बनाउँदै आएको यस कार्यक्रमले विपद्(उत्थानशील, सुरक्षित र सक्षम समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ। सशस्त्र प्रहरीको यो अभियानले समुदायलाई केवल विपद्को सामना गर्न मात्र होइन, विपद्पछि पुनर्स्थापनाका कार्यमा समेत प्रभावकारी भूमिका निर्वाह गर्न सक्षम जनशक्ति तयार गरिरहेको छ।
