काठमाडौं । सीमा क्षेत्रमा हुने अवैध गतिविधि, राजस्व चुहावट र चोरी–तस्करी नियन्त्रणलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपाल ले अनुशासन र आर्थिक सुशासनमा कडाइ गर्ने भएको छ। संगठनले सीमा क्षेत्रमा खटिएका कुनै पनि दर्जाका सशस्त्र प्रहरी कर्मचारी अनुशासनविपरीत गतिविधिमा संलग्न भएको पाइए कडा कारबाही गरिने स्पष्ट गरेको छ।
सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार सीमा क्षेत्रमा परिचालित कर्मचारीहरूको कार्यसम्पादन, आर्थिक सुशासन र अनुशासनको नियमित अनुगमन भइरहेको छ। कुनै पनि प्रकारको त्रुटि वा अवैध गतिविधिमा संलग्नता देखिए तत्काल छानबिन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।
यसैक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय मातहत कार्यरत सशस्त्र प्रहरी हवल्दार हरि बहादुर मगरसहित तीन जना कर्मचारीमाथि अनुशासन र कार्यसम्पादनमा कमजोरी देखिएपछि असार १० गते प्रधान कार्यालयमा झिकाई छानबिन सुरु गरिएको छ।
त्यसैगरी विभिन्न बाहिनी मुख्यालय मातहतका सीमा सुरक्षा गुल्मका गुल्मपति तथा बिओपी (बोर्डर आउट पोस्ट) का कमाण्डरसहित कार्यसम्पादन कमजोर देखिएका ९ जनालाई जिम्मेवारीबाट फिर्ता बोलाइएको छ। अनुशासनविपरीत कार्य गरेको आरोपमा थप ६७ जना सशस्त्र प्रहरी कर्मचारीमाथि पनि कारबाही गरिएको संगठनले जनाएको छ।
सीमामा हुने तस्करी, अवैध कारोबार र राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन लामो समय एउटै जिल्लामा कार्यरत १ हजार ८०३ जना सशस्त्र प्रहरी कर्मचारीको अन्तरजिल्ला सरुवा गरिएको छ। सरुवामा तराईबाट पहाड र पहाडबाट तराई मिलान गरिएको तथा बाँकी कर्मचारीको सरुवा प्रक्रिया पनि यसै साताभित्र पूरा गरिने जनाइएको छ।
सशस्त्र प्रहरी बलले सीमा अपराध नियन्त्रण, आर्थिक अनुशासन र सुशासनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै भविष्यमा पनि अवैध गतिविधिमा संलग्न देखिने जुनसुकै दर्जाका कर्मचारीमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ।