नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरीका ८ गणका गणपति फेरिने प्रतीक्षामा, एसपी सरुवाको अझै छैन् टुंगो

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका आठ वटा गण तथा रिजर्भ गणका गणपतिहरूको एक वर्षे कार्यकाल पूरा भइसके पनि उनीहरूको स्थानमा नयाँ नेतृत्व पठाउने निर्णय अझै हुन सकेको छैन। असार मसान्तमै कार्यकाल सकिए पनि एसपी तहको सरुवा प्रक्रिया ढिलाइ हुँदा ती गणमा नेतृत्व परिवर्तन हुन बाँकी रहेको हो।

गत वर्ष गरिएको एसपी तहको सरुवाअन्तर्गत विभिन्न गणमा खटाइएका अधिकृतहरूले साउन १ गतेदेखि जिम्मेवारी सम्हालेका थिए। तीमध्ये नम्बर १३ गण पर्साका गणपति पुरनचन्द्र भट्ट माघमै अन्य जिम्मेवारीमा सरुवा भएपछि बाँकी आठ गणका गणपतिहरूको कार्यकाल यसपटक एक वर्ष पुगेको छ।

हाल कार्यकाल पूरा भएका गणमा नम्बर ६ गण सप्तरी, नम्बर ९ गण महोत्तरी, नम्बर १५ गण काभ्रे, नम्बर २० विपद् उद्धार गण सिनामंगल (काठमाडौं), नम्बर ३६ गण डोटी, नम्बर ३९ रिजर्भ गण बर्दिबास (महोत्तरी), नम्बर ४१ रिजर्भ गण चन्द्रौटा (कपिलवस्तु) र नम्बर ४३ रिजर्भ गण बनबेहडा (कैलाली) रहेका छन्।

सशस्त्र प्रहरी स्रोतका अनुसार हालै एसपीमा बढुवा भएका अधिकृतहरूलाई ती गणको नेतृत्वमा पठाउने तयारी भइरहेको छ। जेठको पहिलो सातामा बढुवा भएका अधिकारीहरूलाई प्राथमिकतामा राखेर सरुवा सूची तयार पारिएको बताइएको छ। यसअघि सशस्त्र प्रहरी मुख्यालयले डीएसपी तहका ७१ जना अधिकृतको सरुवा गरिसकेको छ। उनीहरूमध्ये अधिकांशलाई गुल्मपतिको जिम्मेवारी दिइएको भए पनि एसपी तहको सरुवा भने अझै टुंगिन सकेको छैन।

सशस्त्र प्रहरी नियमावलीअनुसार एसपीसम्मको सरुवा गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई रहेको छ। डीएसपी सरुवापछि संयुक्त राष्ट्रसंघको पाँचौँ युनाइटेड नेशन्स चिफ अफ पुलिस समिट मा सहभागी हुन अमेरिका गएका सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल स्वदेश फर्किसकेकाले अब एसपी तहको सरुवा प्रक्रिया चाँडै निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।

उच्च स्रोतका अनुसार गृहमन्त्री सुधन गुरुङले केही गणपतिहरूको कार्यसम्पादनको समीक्षा गरेपछि मात्रै अन्तिम निर्णय गर्ने तयारी गरेका छन्। अपेक्षित कार्यसम्पादन गर्न नसकेका तथा विवादमा आएका केही गणपतिलाई समेत यसपटकको सरुवामा समेटिने सम्भावना रहेको बताइएको छ। साथै, गृहमन्त्री गुरुङले केही समयअघि सीमावर्ती क्षेत्रमा पूर्वसूचना बिना अनुगमन गरी सुरक्षा अवस्थाको प्रत्यक्ष मूल्यांकनसमेत गरेको स्रोतको दाबी छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्