नेभिगेशन
सशस्त्र प्रहरी

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सक्रियता, १५ लाख बढीको अवैध सामान बरामद

काठमाडौं । सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सक्रियतामा १५ लाख रुपैयाँ बढीको अवैध रुपले ल्याइएको भन्सार छलीका सामान बरामद गरेको छ।

सशस्त्र  प्रहरी प्रधान कार्यालयका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं.७ गण सिराहाको टोलीले नेपाल–भारत सीमा क्षेत्रका विभिन्न स्थानबाट १५ लाख ४८ हजार ८७० रुपैयाँ मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरिएको हो।

सशस्त्र प्रहरीको गस्तीका क्रममा किराना सामान, लत्ताकपडा, मदिरा, पेय पदार्थ तथा बीआर ३२ एए ९०८ र बीआर ३२ एफ ६५९७ नम्बरका दुईवटा मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

सशस्त्र प्रहरीका  अनुसार सीमा क्षेत्रमा नियमित गस्तीका क्रममा उक्त सामान र मोटरसाइकलहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ।

भारतबाट अवैध रूपमा लत्ताकपडा र किराना सामान नेपाल भित्र्याउने तथा नेपालबाट मदिरा भारततर्फ लैजाने गतिविधि भइरहेको कडा निगरानीका क्रममा सशस्त्र प्रहरीले उक्त रकम बराबरका अवैध सामान बरामद गर्न सफल भएको हो।

यसैबीच, सशस्त्र प्रहरी बल नम्बर ७ गण मुख्यालय सिराहाले गत असार महिनामा मात्रै रु १ करोड ५६ लाख बराबरका चोरी पैठारीका सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्