नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरी प्रमुखले भने– सीमा अपराध नियन्त्रणमा समन्वय अझ सुदृढ बनाउँछौं

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा सुरक्षा सुदृढ बनाउन र सीमावर्ती क्षेत्रमा हुने अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी दृढतापूर्वक लागिरहेको बताएका छन्।

सिंहदरबारमा बसेको आज बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकलाई सम्बोधन गर्दै महानिरीक्षक पौडेलले सीमावर्ती क्षेत्रमा सुरक्षा चुनौती सामना गर्न स्थानीय समुदाय, प्रशासन, अन्य सुरक्षा निकाय तथा सरोकारवालासँग निरन्तर समन्वय र सहकार्य भइरहेको जानकारी दिए।

उनले नेपालका उत्तर तथा दक्षिण दुवै सीमामा रहेका समकक्ष सुरक्षा निकायसँगको सहकार्यलाई अझ मजबुत बनाउँदै संयुक्त समन्वयमार्फत सीमा सुरक्षा र सीमा अपराध नियन्त्रणलाई प्रभावकारी बनाइने बताए। सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोकथामका लागि आपसी सूचना आदानप्रदान र समन्वयलाई प्राथमिकता दिइएको उनको भनाइ थियो।

महानिरीक्षक पौडेलका अनुसार सशस्त्र प्रहरीले हालसम्म सीमा सुरक्षा, नागरिकको जिउधनको संरक्षण तथा शान्ति–सुरक्षा कायम गर्न विभिन्न सुरक्षा गतिविधि सञ्चालन गर्दै आएको छ। उपलब्ध स्रोत–साधन र कानुनी व्यवस्थाको प्रभावकारी उपयोग गर्दै आगामी दिनमा पनि सीमा व्यवस्थापनलाई थप व्यवस्थित र परिणाममुखी बनाउने लक्ष्यका साथ संगठन अघि बढ्ने उनले बताए।

उनले सीमावर्ती क्षेत्रका बासिन्दाको सुरक्षा, शान्ति–सुव्यवस्था र सीमा अपराध नियन्त्रण सशस्त्र प्रहरीको प्रमुख प्राथमिकतामध्ये एक रहेको उल्लेख गर्दै बदलिँदो सुरक्षा चुनौतीलाई ध्यानमा राखी संगठन अझ सक्रिय र जिम्मेवार ढंगले परिचालन हुने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्