नेभिगेशन
सशस्त्र प्रहरी

शान्ति मिसनमा दक्षिण सुडान जाने सशस्त्र प्रहरीको १३औं डफ्फाको बिदाइ [फोटोसहित]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडान (यूएनएमआईएसएस) अन्तर्गत नेपाल फर्म्ड पुलिस युनिट (एफपीयू) का रूपमा खटिन जाने १३औं डफ्फालाई बुधबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा बिदाइ गरेका छन्।

बिदाइ कार्यक्रममा उनले दक्षिण सुडानमा कार्यरत १२औं डफ्फालाई प्रतिस्थापन गर्न जान लागेका सशस्त्र प्रहरी कर्मचारीहरूको एक वर्षे कार्यकाल सफल र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गरे।

उनले विश्वमा भू–राजनीतिक प्रतिस्पर्धा, आतंकवाद तथा साइबर सुरक्षाजस्ता चुनौती बढिरहेका र शान्ति मिशनको संख्या घट्दै गएको अवस्थामा यस्तो अवसर प्राप्त हुनु संगठन र राष्ट्रका लागि गौरवको विषय भएको बताए।

आईजीपी पौडेलले यो अवसर व्यक्तिगत नभई संगठन, राष्ट्र र सम्पूर्ण नेपाली जनताको प्रतिनिधित्व भएकाले मिशनमा गरिने हरेक कार्यले नेपालको अन्तर्राष्ट्रिय छवि निर्धारण गर्ने उल्लेख गर्दै शान्ति मिशनमा सशस्त्र प्रहरीले बनाएको व्यावसायिक पहिचानलाई अझ उचाइमा पुर्‍याउन जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिए।

उनले दक्षिण सुडानको संवेदनशील सुरक्षा अवस्था, सांस्कृतिक विविधता र सीमित स्रोत–साधनका बीच व्यावसायिक दक्षता, आपसी विश्वास, समन्वय र सामूहिक भावनासहित काम गर्नुपर्नेमा जोड दिए। साथै यौन शोषण तथा दुव्र्यवहारप्रति शून्य सहनशीलताको नीति अपनाउन र मानवअधिकारका विषयमा पूर्ण सजग रहन निर्देशन दिए।

अनुशासनमा कुनै सम्झौता नगर्न आग्रह गर्दै उनले कुनै एक जनाको गल्ती, लापरवाही वा अनुशासनहीनताले सम्पूर्ण मिशनमाथि प्रश्न उठ्न सक्ने भएकाले त्यसप्रति सबै सचेत रहनुपर्ने बताए।

त्यसैगरी उनले आर्थिक पारदर्शिता कायम राख्दै प्राप्त बजेटको सदुपयोग गर्न तथा मर्मत–सम्भार र सामग्री व्यवस्थापनमा इमान्दार हुन निर्देशन दिए। मिशनमा रहँदा कर्मचारीका परिवारमा आइपर्ने समस्याको समाधानका लागि संगठन सधैं साथमा रहने विश्वास पनि उनले व्यक्त गरे।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू बंशीराज दाहाल, गणेशबहादुर ठाडा मगर र अञ्जनीकुमार पोखरेलले पनि टोलीलाई सफल कार्यकालको शुभकामना दिँदै बिदाइ गरेका थिए।

सशस्त्र प्रहरी बल नेपाल सन् २००३ मा पहिलो पटक संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत लाइबेरियामा खटिएको थियो। उक्त मिसन सन् २०१६ मा सम्पन्न भएको थियो भने सन् २०१४ देखि दक्षिण सुडानको जुवामा पनि सशस्त्र प्रहरीको सहभागिता रहँदै आएको छ।

हाल दक्षिण सुडानमा १६० जना सशस्त्र प्रहरी कर्मचारी कार्यरत छन्। सशस्त्र प्रहरी उपरीक्षक हर्कराज पन्तको नेतृत्वमा १६० सदस्यीय १३औं डफ्फा साउन २१ गते दक्षिण सुडानतर्फ प्रस्थान गर्नेछ।

बिदाइका तस्बिरहरु -

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्