काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त (आईजीपी) पौडेलले संगठनको उद्देश्य, मर्यादा र प्रतिष्ठालाई केन्द्रमा राखेर देश तथा जनताको सुरक्षा र सेवामा समर्पित भएर काम गर्न सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।
आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा समादेशक, गणपति र गुल्मपतिको रूपमा खटिन लागेका अधिकृतका लागि सञ्चालन गरिएको कमान्ड अनुशिक्षण तालिमको समापन कार्यक्रममा आईजीपी पौडेलले गलत नियतका साथ कार्य गर्ने जुनसुकै दर्जाका कर्मचारी कारबाहीको भागीदार बन्ने बताएका हुन्।
राष्ट्र र संगठनको प्रतिष्ठाभन्दा माथि कोही पनि हुन नसक्ने उल्लेख गर्दै उनले कसैलाई प्रभावमा पारेर कारबाहीबाट उम्किन सकिन्छ भन्ने सोच त्याग्न निर्देशन दिए।
सरकारको नतिजामा आधारित शासकीय प्रबन्ध तथा सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व संकलनमा सहयोग र विपद् व्यवस्थापनमा परिचालनको अवधारणालाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्नुपर्ने पौडेलले बताए।
आर्थिक अनियमितताप्रति शून्य सहनशीलताको नीति पूर्ण रूपमा पालना गर्दै त्रुटिरहित ढंगबाट जिम्मेवारी निर्वाह गर्न उनले निर्देशन दिए। फिल्डमा खटिँदा सामान्य कमजोरी वा लापरबाहीले समेत अपूरणीय घटना तथा ठूलो क्षति निम्त्याउन सक्ने भन्दै पौडेलले अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा चुनौतीको निरन्तर विश्लेषण गर्नुपर्ने बताए।
राष्ट्रिय स्तरमा भइरहेका विरोध कार्यक्रम, विपद्, सीमा अपराध तथा सामाजिक सञ्जालको दुरुपयोगबाट उत्पन्न हुन सक्ने जोखिमप्रति समयमै सजग रहनुपर्ने उनको भनाइ थियो। सीमा अपराध नियन्त्रण, लागूऔषध ओसारपसार, मानव बेचबिखन, तेस्रो मुलुकका नागरिकको प्रवेश तथा चोरी–तस्करी नियन्त्रणमा विशेष चनाखो भएर काम गर्न उनले निर्देशन दिए। सीमा सुरक्षामा परिचालन हुँदा सरोकारवाला निकाय, सम्बन्धित संस्थाहरू तथा सीमापारका समकक्षीसँग आवश्यक समन्वय गर्नुपर्नेमा पनि उनले जोड दिए।
सामाजिक सञ्जालको प्रयोग र दुरुपयोगप्रति समेत कर्मचारी सजग हुनुपर्ने पौडेलले बताए। मिसइन्फर्मेसन, डिसइन्फर्मेसन र हेट स्पिचका कारण उत्पन्न हुन सक्ने जोखिमबारे विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।
असल नियत र इमानदारीपूर्वक गरिने कार्यको संगठनले उच्च मूल्यांकन तथा संरक्षण गर्ने उल्लेख गर्दै पौडेलले कार्यक्षेत्रमा परिचालित कर्मचारीलाई उच्च मनोबलका साथ व्यावसायिक ढंगले काम गर्न आग्रह गरे।
तालिम शिक्षालयका समादेशकलाई ‘शिक्षालयलाई उत्कृष्टताको केन्द्र’ बनाउने लक्ष्यका साथ व्यावसायिकता र प्रविधिमा जोड दिन उनले निर्देशन दिए। व्यावहारिक सीप विकासलाई प्राथमिकतामा राख्दै शिक्षालयको स्तरोन्नतिका लागि अग्रसर हुनुपर्ने उनको भनाइ थियो। सशस्त्र प्रहरी बल नेपालका सबै युनिटमा फायरफाइटिङ टिम स्ट्यान्डबाइ राख्न पनि पौडेलले निर्देशन दिए। आगलागीजस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सतर्कता अपनाउँदै आफ्नो जिम्मेवारी क्षेत्रमा २४सै घण्टा अपरेसनल तत्परता कायम राख्न उनले युनिट कमान्डरलाई निर्देशन दिएका थिए।