नेभिगेशन
सशस्त्र प्रहरी

बाँके र बर्दियाका सीमा क्षेत्रमा आईजीपी पौडेलको स्थलगत निरीक्षण, सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन निर्देशन

बाँके । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले बाँके तथा बर्दियास्थित सशस्त्र प्रहरी बल, नेपालका विभिन्न युनिटको निरीक्षण भ्रमण गरी सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र व्यवस्थित बनाउन आवश्यक निर्देशन दिएका छन् ।

निरीक्षण भ्रमणका क्रममा आज महानिरीक्षक पौडेलले बाँके तथा बर्दियाका विभिन्न सीमा क्षेत्रको स्थलगत अवलोकन गरी सीमा सुरक्षाको वर्तमान अवस्था, चुनौती तथा सशस्त्र प्रहरीको परिचालनबारे जानकारी लिएको सशस्त्र प्रहरीले जनाएको छ।



महानिरीक्षक पौडेलले सीमा नाकालाई थप व्यवस्थित बनाउने विषयमा जिल्ला सुरक्षा समिति, भन्सार प्रशासन तथा सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिसँग अन्तरक्रिया तथा छलफलसमेत गरेका हुन । छलफलमा सीमा सुरक्षा, अवैध गतिविधि नियन्त्रण, राजस्व चुहावट रोकथाम तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वयका विषयमा जोड दिइएको थियो।

यस्तै, सीमा क्षेत्रमा देखिने समस्या तथा सुरक्षा चुनौतीलाई संयुक्त समन्वयमार्फत समाधान गर्ने विषयमा भारतीय सीमा सुरक्षा बलका प्रमुखसँग समेत छलफल गरिएको सशस्त्र प्रहरीले जनाएको छ। नेपाल–भारत सीमामा शान्ति तथा सुरक्षा कायम राख्दै सीमा अपराध तथा अवैध गतिविधि नियन्त्रणका लागि दुवै पक्षबीच आवश्यक समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइएको छ।



निरीक्षणका क्रममा महानिरीक्षक पौडेलले सशस्त्र प्रहरीका विभिन्न युनिटका अधिकारी तथा जवानहरूसँग समेत अन्तरक्रिया गर्दै आफ्नो जिम्मेवारीलाई उच्च प्राथमिकताका साथ निर्वाह गर्न निर्देशन दिएका छन् ।

सीमा सुरक्षालाई थप मजबुत बनाउँदै सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा सम्बन्धित निकायबीचको समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यले महानिरीक्षक पौडेलको बाँके–बर्दिया निरीक्षण भ्रमण भएको सशस्त्र प्रहरीले जनाएको छ। म्महानिरीक्षक पौडेलसँगै लुम्बिनी प्रदेशका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपक अधिकारी, सशस्त्र प्रहरी प्रधान कार्यालयका वरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीना,बाँके  र बर्दियाका सशस्त्र प्रहरी प्रमुख भीमबहादुर चन्द,दिनेश महत,नौबस्ता तालिम केन्द्र प्रमुख चित्राङ्गत दाहाल लगायत अन्य वरिष्ठ अधिकारीको उपस्थिति रहेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्