नेभिगेशन
सशस्त्र प्रहरी

बाढी प्रभावित क्षेत्रमा आईजीपी पौडेल, प्रभावित नागरिकसँग लिए समस्या र अवस्थाबारे जानकारी

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी)  नारायणदत्त पौडेलले बाढी प्रभावित जिल्लाहरूको स्थलगत अनुगमन गर्दै प्रभावित नागरिकको अवस्था तथा उनीहरूले भोगिरहेका समस्या र कठिनाइबारे जानकारी लिएका छन्।

अनुगमनका क्रममा आईजी पौडेलले बाढीबाट प्रभावित क्षेत्रको पछिल्लो अवस्था, उद्धार तथा राहतको प्रगतिबारे जानकारी लिनुका साथै स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको आवश्यकता र समस्याबारे जानकारी लिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

विपद्को समयमा सशस्त्र प्रहरी बल, नेपालका टोलीहरू निरन्तर खोज तथा उद्धार, बेपत्ताको खोजी, जोखिममा रहेका नागरिकको उद्धार, शव खोजी तथा व्यवस्थापन र प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यमा परिचालित छन्। यस्तै, प्रभावित क्षेत्रमा आवश्यक राहत तथा मानवीय सहयोग पुर्‍याउने कामसमेत भइरहेको छ।

अनुगमनका क्रममा महानिरीक्षक पौडेलले खोज तथा उद्धारमा खटिएका सशस्त्र प्रहरी कर्मचारीसँग घटनास्थलको अवस्थाबारे जानकारी लिँदै उच्च सतर्कताका साथ प्रभावकारी ढंगले उद्धार कार्य अघि बढाउन आवश्यक निर्देशन दिए।

उनले विपद्को समयमा नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता भएकाले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्‍याउन निर्देशन दिएका छन् । साथै, स्थानीय तह, अन्य सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी खोज, उद्धार तथा राहतका कार्यलाई थप प्रभावकारी बनाउन जोड दिए।

बाढी तथा पहिरोजस्ता विपद्का कारण जोखिममा परेका नागरिकको उद्धार तथा बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी बलका टोलीहरू प्रभावित क्षेत्रमा निरन्तर परिचालित रहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्