काठमाडौं । भोटेकोशीको बाढीले टिमुरेमा मच्चाएको विनाशबीच एउटा परिवारका लागि ६० घण्टा कहिल्यै नबिर्सने पीडादायी समय बन्यो । बाढीको भेलले आमाबुबालाई एकातिर हुत्यायो, ६ वर्षीया छोरी मनिषा उचाईमगरलाई अर्कोतिर माटो र भग्नावशेषमुनि पुर्यायो ।
बाढीपछि मनिषा कहाँ छिन् भन्ने कसैलाई थाहा थिएन । परिवार र आफन्तका लागि उनको अवस्था अँध्यारो सुरुङजस्तै बनेको थियो । तर, ६० घण्टापछि त्यही मौनताबीच एउटा सानो आवाज सुनियो– बच्चा रोएको जस्तो ।
सशस्त्र प्रहरी बलको टिमुरेस्थित बीओपीबाट खटिएको टोलीले आवाज आएको ठाउँमा खोजी थाल्यो । माटो, काठ र भग्नावशेष पन्छाउँदै जाँदा सुरक्षाकर्मीले मनिषालाई जीवितै भेट्टाए ।
उनको शरीरको अधिकांश भाग माटोले पुरिएको थियो । टाउकोको केही भाग भने काठको टाँडका कारण पूर्ण रूपमा पुरिनबाट जोगिएको थियो । त्यहीँबाट आएको आवाजले सुरक्षाकर्मीलाई उनलाई भेट्टाउने आशा दिएको थियो ।
मृत्यु र जीवनबीच ६० घण्टा बिताएकी मनिषालाई सुरक्षाकर्मीले बाहिर निकालेपछि तत्काल प्राथमिक उपचार गरे । रातभर बीओपीमै राखेर उपचार गरिएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई धुन्चे लगियो। स्वास्थ्यमा थप समस्या देखिएपछि काठमाडौं ल्याएर उपचार भइरहेको छ ।
मनिषाको उद्धारपछि अर्को खुशीक खबर पनि आयो– उनका बाबुआमा पनि जीवितै रहेछन् ।
बाढीको भीषण छालले भित्तामा हुत्याएपछि आफूहरू बाँच्न सफल भएको उनीहरूले सुरक्षाकर्मीलाई बताएका छन् । मनिषाकी आमा गीता उचाईमगर टिमुरेस्थित ग्लोबल आईएमई बैंकमा कार्यरत रहेको खुलेको छ । बाढीबाट जोगिएका बाबुआमा पनि उपचारका लागि काठमाडौं ल्याइएका छन् ।
अहिले एउटै परिवारका तीनै जना अस्पतालमा उपचाररत छन् । बाबुआमालाई आफ्नी छोरी ६० घण्टासम्म माटोमुनि रहेर पनि जीवितै उद्धार भएको खबर छ । छोरीलाई भने आफूहरू बाँचेर फर्किएको खबर छ ।
भोटेकोशीले धेरै परिवारबाट आफन्त खोसेको बेला मनिषाको जीवित उद्धारले भने निराशाबीच आशाको एउटा किरण देखाएको छ । ६० घण्टासम्म माटोमुनि थुनिएकी एउटी बालिकाको आवाज सुनेर उनलाई जीवनमा फर्काउने सुरक्षाकर्मीको प्रयासले उद्धारको अर्थलाई अझ गहिरो बनाएको छ ।
तर, मनिषालाई जीवितै भेटिएको त्यही टिमुरे बीओपीका ९ जना सशस्त्र प्रहरी भने अझै बेपत्ता छन् । एउटा बालिकालाई मृत्युको मुखबाट निकाल्न सफल सुरक्षाकर्मीका आफ्नै नौ सहकर्मीको खोजी भने अझै जारी छ ।