काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे क्षेत्र सुनसान बनेको छ। सञ्चार सम्पर्क र सडक सञ्जाल विच्छेद हुँदा सम्पर्कविहीन भएका व्यक्तिहरूको खोज तथा उद्धारका लागि प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको टोली निरन्तर परिचालित छ।
बाढीले टिमुरे क्षेत्रका बस्ती तथा संरचनामा ठूलो क्षति पुर्याएपछि २१ सयभन्दा बढी व्यक्ति सम्पर्कविहीन भएको जनाइएको छ। प्रतिकूल भौगोलिक अवस्था र सीमित स्रोतसाधनका बीच सशस्त्र प्रहरीले खोज तथा उद्धार कार्य जारी राखेको छ। हालसम्म त्यस क्षेत्रमा बेपत्ता भएका ९७ जनाको शव फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ।
बाढीमा स्थानीय बासिन्दासँगै सुरक्षाकर्मी तथा नेपाली र विदेशी पर्यटकसमेत सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजीका लागि सशस्त्र प्रहरीबाहेक अन्य निकाय तथा स्थानीयको उपस्थिति न्यून रहेको जनाइएको छ।
सशस्त्र प्रहरीले भदौ १० गतेदेखि टिमुरे क्षेत्रमा निरन्तर खोज तथा उद्धार गरिरहेको छ। सडकमार्गबाट स्रोतसाधन पुर्याउन कठिनाइ भए पनि ड्रोन क्यामेरा र केनाइन डगको सहयोगमा बेपत्ताको खोजी भइरहेको छ।
सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप राईको कमान्डमा ३० जनाभन्दा बढी सशस्त्र प्रहरी कर्मचारीको विशेष टोली परिचालित छ। टोलीमा नेपाल एपीएफ अस्पतालका प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा। सुरेन्द्र भट्टराई र प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा। अनिल जोशी पनि खटिएका छन्। टोलीमा गोताखोर, रोप रेस्क्यु तथा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीसमेत छन्।

बाढी तथा पहिरोले स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डलगायतका मुख्य सडकमा रहेका करिब ४१ भन्दा बढी पुल बगाएको जनाइएको छ। भौगोलिक विकटता, विद्युत् आपूर्ति अवरुद्ध हुनु तथा वैकल्पिक मार्गको अभावका कारण उद्धारमा आवश्यक स्रोतसाधन पुर्याउन र सञ्चार सम्पर्क कायम गर्नसमेत कठिनाइ भएको छ।
यस क्रममा टिमुरे क्षेत्रमा परिचालित सशस्त्र प्रहरीका नौ जना कर्मचारीसमेत बेपत्ता भएका छन्। उनीहरूको खोजीका लागि अन्य क्षेत्रबाट थप जनशक्ति परिचालन गरिएको छ।
बाढीमा परी घाइते तथा सकुशल उद्धार गरिएका नागरिकलाई सुरक्षित रूपमा रसुवाको धुन्चेस्थित होल्डिङ सेन्टरमा पठाइएको छ।
खोज तथा उद्धारमा खटिएको टोलीले भदौ १२ गते साँझ टिमुरेमा माटोमुनि पुरिएकी ६ वर्षीया बालिकालाई जीवितै उद्धार गरेको थियो। बाढी आएको करिब ६० घण्टापछि बालिका रोइरहेको आवाज सुनेपछि प्रहरीले तत्काल उत्खनन गरी उनलाई जीवितै उद्धार गरेको हो।
उद्धारपछि बालिकालाई बोर्डर आउट पोस्ट टिमुरेमा ल्याएर न्यानो बनाउनुका साथै प्राथमिक उपचार गरिएको थियो। स्वास्थ्य अवस्था कमजोर भएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो।
सशस्त्र प्रहरीले टिमुरे क्षेत्रमा ज्यान गुमाएकाहरूको शव पहिचान तथा समयमै व्यवस्थापनका लागि सम्बन्धित निकाय र सरोकारवालासँग समन्वय गरिरहेको जनाएको छ।