नेभिगेशन
सुरक्षा अपडेट

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, पछाडि सवार गम्भीर घाइते

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५, घण्टाघर चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

शनिबार राति करिब साढे ९ बजे बाइपासबाट बुद्धचोकतर्फ आउँदै गरेको लु ३३ प ५४७५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिँदा त्यसमा सवार दुई जना घाइते भएका थिए।

दुर्घटनामा रामग्राम नगरपालिका–४ निवासी करिब ३५ वर्षीय अशोक हरिजनको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई जिल्ला अस्पताल परासीमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा रेफर गरिएको थियो।

लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा राति साढे ११ बजे चिकित्सकले अशोकलाई मृत घोषणा गरेका हुन्। उनको शव अस्पतालमै रहेको र पोस्टमार्टम हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

मोटरसाइकलको पछाडि सवार पाल्हीनन्दन गाउँपालिका–३, बेलासपुर निवासी करिब ३५ वर्षीय रमेश हरिजनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको लुम्बिनी सिटी अस्पतालको आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको जनाइएको छ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी एवं सूचना अधिकारी मदन थापाले जानकारी दिएका हुन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्