नेभिगेशन
सशस्त्र प्रहरी

बसको ठक्करबाट मोटरसाइकल सवार सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु

काठमाडौं ।  बसको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । सोमबार साँझ भएको दुर्घटनामा  मोरङको बूढीगंगा गाउँपालिका–४ का ३६ वर्षीय सहायक हवल्दार  सुदीप  खड्काको मृत्यु भएको ट्राफिक प्रहरीले  जनाएको छ।

 ट्राफिक प्रहरीका अनुसार    कोशी लोकमार्गअन्तर्गत बूढीगंगा–४ स्थित नेमुवा चोकमा वीरगन्जबाट विराटनगरतर्फ आउँदै  गरेको को १ ख ७९१३ नम्बरको बसले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार साँझ करिब ५ः३० बजे पश्चिमबाट पूर्वतर्फ बाटो काट्दै गरेको प्र १–०४–००४ प ०३४६ नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका खड्कालाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो । टाउको, छाती तथा हातखुट्टालगायत शरीरका विभिन्न भागमा चोट लागेका उनको उपचारकै क्रममा साँझ ६ः५२ बजे मृत्यु भएको हो ।

खड्का सशस्त्र प्रहरी बल नेपाल, बीओपी स्वर्णपट्टी, सप्तरीमा कार्यरत रहेको खुलेको छ ।

प्रहरीले दुर्घटनामा संलग्न बस चालक सुनसरीको रामधुनी नगरपालिका–५ शिवचोकका ४८ वर्षीय राजन दाहाललाई नियन्त्रणमा लिएको छ । बस र मोटरसाइकलसमेत प्रहरीको नियन्त्रणमा छन् ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्