नेभिगेशन
सशस्त्र प्रहरी

कामको प्रलोभनमा भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट सशस्त्र प्रहरीद्वारा उद्धार, दुई जना पक्राउ 

बाँके । ललाई–फकाई कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई जना १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ। किशोरीलाई लिन आएका एक भारतीय नागरिकसहित दुई जनालाई समेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

बुधबार साँझ ७ः५० बजे नरैनापुर गाउँपालिका–१, सुईया क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल बीओपी कटकुइयाबाट सशस्त्र प्रहरी निरीक्षक झक्कु प्रसाद शर्माको कमाण्डमा खटिएको सात जनाको टोलीले विशेष सूचनाका आधारमा सवारीसाधन जाँच गर्ने क्रममा नेपालगञ्जबाट भारततर्फ जाँदै गरेको रा१ ह ३७३० नम्बरको अटो रिक्सामा दुई किशोरीलाई फेला पारेको सशस्त्र प्रहरी बल,नेपाल नं. ३० गण बागेश्वरी बाँकेले जनाएको छ।

उद्धार गरिएका किशोरीमा बर्दियाको बाह्रबर्दिया–२ बस्ने १६ वर्षीया सन्जु थारु र ठाकुरबाबा नगरपालिका–८ बस्ने १६ वर्षीया निर्जला चौधरी रहेको सशस्त्र प्रहरी बल नं. ३० गणले जानकारी दिएको छ।

सशस्त्र प्रहरी बल,नेपाल नं. ३० गणका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा किशोरीलाई ललाई–फकाई कामको प्रलोभन देखाएर भारत लैजान लागिएको खुलेको छ। उनीहरूलाई भारत पुर्‍याएर बेच्ने उद्देश्य रहेको आशंका गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सीमा क्षेत्र पार गराउन उनीहरूलाई भारतको श्रावस्ती जिल्लास्थित चौधरी गाउँमा रहेको मामा घर जान लागेको बताउन लगाइएको प्रारम्भिक विवरणबाट खुलेको छ। तर, किशोरीहरूको गतिविधि र उनीहरूले दिएको विवरण शंकास्पद देखिएपछि सशस्त्र प्रहरी निरीक्षक शर्माले थप सोधपुछ तथा जाँच गरेका थिए। त्यसक्रममा उनीहरूलाई भारत लैजान खोजिएको आशंका पुष्टि भएपछि उद्धार गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गणले  जनाएको छ।

किशोरीलाई लिन आएका व्यक्तिहरूमाथि समेत निगरानी बढाइएको थियो। सोही क्रममा बीओपी प्रमुख  शर्मासहित सुईया नाकामा खटिएको टोलीले किशोरीलाई लिन आएका दुई जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका–३ कालाफाटा बस्ने ३० वर्षीय यार मोहम्मद बेहना र भारत उत्तर प्रदेश, धावस्ती बस्ने ३३ वर्षीय हनुमान प्रसाद महन्त रहेका छन्।

उनीहरूको साथबाट रा१ ह ३७३० नम्बरको अटो रिक्सा, यूपी ३९०७ नम्बरको भारतीय मोटरसाइकल र चार थान मोबाइल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

उद्धार गरिएका दुवै किशोरीलाई संरक्षण तथा आवश्यक समन्वयका लागि इलाका प्रहरी कार्यालय सुईयाका प्रहरी सहायक निरीक्षक लोक बहादुर मल्लको रोहबरमा पीआरसी नेपाल, सुईयाकी प्रतिनिधि अन्नपूर्ण मिश्रको जिम्मा लगाइएको छ भने पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नरैनापुर प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरी बाँकेले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्