नेभिगेशन
नेपाल प्रहरी

पाल्हिनन्दनमा कुटपिटबाट घाइते युवकको उपचारका क्रममा मृत्यु, सुनिल पक्राउ

परासी । पाल्हिनन्दन गाउँपालिका–५ गेर्मीमा कुटपिटबाट घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा पाल्हिनन्दन–५ गेर्मीका ३० वर्षीय संजय गुप्ता रहेका छन्।

प्रहरीका अनुसार भदौ २९ गते साँझ करिब पौने सात बजे मदिरा सेवन गरी संजय सोही स्थानका ३० वर्षीय सुनिल प्रसाद गुप्ताको घरमा पुगेका थिए। त्यहाँ सामान्य विवाद भएपछि सुनिल प्रसाद गुप्ताले संजयलाई कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

कुटपिटका क्रममा संजयको दाहिने कानमा भित्री चोट लाग्नुका साथै कानबाट रगतसमेत बगेको थियो। त्यसपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल परासी लगिएको थियो। जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचार आवश्यक भएपछि उनलाई भैरहवा, रुपन्देहीस्थित मेडिकल कलेजमा रिफर गरिएको थियो।

मेडिकल कलेजमा उपचार भइरहेको अवस्थामा आज बिहान करिब साढे पाँच बजे संजयको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा सुनिल प्रसाद गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्